काठमाडौं । सरकारले दुई पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा ठूलो कटौती गरेको छ। गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको ठहर गर्दै सुरक्षामा खटिएका ६१ जना फिर्ता बोलाउने निर्णय गरेको हो।
मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयमार्फत पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाबाट २७ जना र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाबाट ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने आदेश दिएका हुन्।
गृह मन्त्रालयले हालै सबै पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री र संवैधानिक निकायका प्रमुखहरूको सुरक्षामा समान मापदण्ड लागू गर्ने तयारी गरेको छ। सोही तयारीको पहिलो चरणमा ओली र दाहालको सुरक्षा घटाइएको बताइएको छ।
मन्त्रालयका एक अधिकारीका अनुसार अबदेखि पूर्वप्रधानमन्त्रीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीबलबाट तोकिएको संख्याभन्दा बढी सुरक्षाकर्मी खटाइने छैन। उनका अनुसार, “राजनीतिक हैसियत वा पार्टीको आकारका आधारमा होइन, मापदण्डअनुसार सुरक्षा दिने नीति गृह मन्त्रालयले लिएको हो।”
