काठमाडौं । ललितपुरस्थित सातदोबाटो वृत्तमा कार्यरत डीएसपी रामकुमार यादवलाई एक्कासी हटाएर डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ। चन्द यसअघि काठमाडौं प्रहरी परिसरमा कार्यरत थिइन्।
अघिल्लो सरकारको समयमा डीएसपी चन्द दरबारमार्ग वृत्तमा जानका लागि शक्तिकेन्द्र धाइरहेकी थिइन्। तर, सरकार परिवर्तनसँगै उनको त्यो योजना असफल भएको थियो। त्यसपछि उनले नेतृत्वसँग नजिकिँदै जसरी पनि अर्को वृत्तको इन्चार्ज बन्ने प्रयास थालेकी थिइन्।
तर, नेतृत्वलाई रिझाउदै उनी सातदोबाटो जान सफल भएकी हुन्।
सातदोबाटो वृत्तका डीएसपी यादवको जेनजी आन्दोलनका बेला कमाण्ड कमजोर भएको आरोप लगाउँदै उनले केही वरिष्ठ प्रहरी अधिकारीहरूलाई उचालेकी थिइन्। फलस्वरूप, नेतृत्वले यादवलाई बिना स्पष्ट कारण सरुवा गर्दै चन्दलाई सातदोबाटो वृत्त सरुवा गरेको हो।
प्रहरी मुख्यालयका स्रोतका अनुसार यादवलाई ‘कार्य क्षमताको अभाव’ भन्दै हटाइए पनि त्यसको ठोस आधार प्रस्तुत गरिएको छैन।
अझ, जेएनजी आन्दोलनका क्रममा अन्य वृत्तहरूमा हातहतियार लुटपाट भए पनि सातदोबाटो वृत्तमा एउटा पनि हतियार लुटिएको थिएन। यादवले सम्भावित जोखिम देखेपछि हातहतियार सुरक्षित स्थानमा राखेका थिए। सातदोबाटोमा रहँदा उनी कुनै विवादमा मुछिएका पनि थिएनन्।
तर, राम्रो काम गर्दागर्दै डीएसपी यादवलाई ६ महिनामै हटाएर संगठनकै बदनाम गरेको आरोप प्रहरी प्रमुख चन्द्रकुबेर खापुङमाथि लागेको छ।
त्यसको विपरीत, डीएसपी चन्द विवादरहित भने रहन सकेकी छैनन्। स्वयम्भू वृत्तमा कार्यरत रहँदा उनीमाथि स्थानीय व्यवसायीलाई धम्की दिएको आरोप समेत लागेको थियो।
त्यसबेला पनि उनको व्यवहार र कमाण्ड शैलीका कारण असन्तुष्टि देखिएको थियो। प्रहरी वृत्तभित्र चन्दलाई ‘अवसर पाउने अधिकारी’को रूपमा हेरिन्छ।
उनीलाई पटक–पटक उपत्यकाकै विभिन्न जिम्मेवारी दिइँदै आएको छ, जबकि पहुँच नहुने अधिकारीहरूलाई उपत्यका बाहिर पठाइन्छ।
स्वयम्भूबाट सरुवा भएको एक वर्ष नहुँदै फेरि सातदोबाटो वृत्तमा प्रमुखका रूपमा खटाइएपछि प्रहरी संगठनभित्रै आलोचना बढेको छ।
पछिल्लो समय चन्दको काठमाडौं परिसरमा समेत चर्को हालीमुहाली देखिएको थियो। नेतृत्वलाई समेत नटेर्ने गरेको उनीसँगै काम गरेका एक जुनियर प्रहरी अधिकारी बताउँछन्।