धादिङ । जेएनजी आन्दोलनको अस्थिर अवस्थाको मौका छोपेर विभिन्न कारागारबाट फरार भएका ३ जना कैदीबन्दीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा केशव थापा मगर, राजकुमार तामाङ र विश्व मिजार रहेका छन्। उनीहरू जेएनजी आन्दोलनका क्रममा देशभर फैलिएको अव्यवस्थाको मौका पारी कारागारबाट फरार भएका थिए।
फरार कैदीबन्दी पक्राउ अभियान अन्तर्गत विशेष सूचना र निगरानीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालले बताए ।
एसपी रिजालले फरार कैदीबन्दी पक्राउ अभियानलाई तीव्रता दिइएको बताउँदै भने, ‘जेएनजी आन्दोलनको अस्थिर अवस्थाको मौका छोपेर फरार भएका कैदीबन्दीलाई एकपछि अर्को गरी पक्राउ गर्ने अभियान निरन्तर रूपमा चलिरहेको छ।’
एसपी रिजालकाअनुसार धादिङ प्रहरीले मात्रै फरार कैदीबन्दीमध्ये हालसम्म कुल १३७ जनालाई पक्राउ गरेको छ। बाँकी फरारहरूलाई समेत पक्राउ गर्न प्रहरीको विशेष अभियान जारी रहेको उनले जानकारी दिए।
पक्राउ परेकाहरूलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
