काठमाडौं । निरन्तरको अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानजस्ता विपद्ले ठूलो भौतिक क्षति पुर्याइरहेका बेला १४ पिक्स एक्सपेडिसन (14 Peaks Expedition) ले २०७ थान टेन्ट काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ।
आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका सञ्चालक टासी लाक्पा शेर्पाले कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्कीलाई टेन्ट हस्तान्तरण गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै एआइजी कार्कीले नेपाल बाढी, पहिरो, डुबान र भूकम्पजस्ता प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको भन्दै विस्थापित नागरिकका लागि यी टेन्टहरू उपयोगी हुने बताए।
उनले १४ पिक्स एक्सपेडिसनले गरेको सहयोगलाई ‘पुण्य कार्य’ भन्दै प्रहरी संगठनको तर्फबाट आभार व्यक्त गरे।
सो अवसरमा टासी लाक्पा शेर्पाले देश र जनताको सेवामा सधैं अग्रपंक्तिमा रहने नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, अन्य वरिष्ठ प्रहरी अधिकृतहरू र १४ पिक्स एक्सपेडिसनका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
