काठमाडौं । उपत्यकामा निरन्तर भइरहेको अविरल वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्की स्वयं अग्रपंक्तिमा खटिएका छन्।
कार्कीले कन्ट्रोल रुममार्फत सम्पूर्ण परिस्थितिको नियमित निगरानी गर्दै रातको समयमा ड्युटीमा खटिएका प्रहरीलाई प्रत्यक्ष भेटेर मनोबल बढाउने कार्यसमेत गरेका छन्।
उनले विभिन्न स्थानमा पुगेर खटिएका प्रहरीलाई आवश्यक निर्देशन दिँदै उपत्यकाको सुरक्षामा कुनै कसर नराख्ने प्रतिबद्धता जनाएका छन्।
सामान्यतया उच्च प्रहरी अधिकारीहरू निर्देशनमा सीमित रहने परम्परा भए पनि एआइजी कार्की आफैं सिपाहीझैँ सक्रिय रहँदै फिल्डमै उपस्थित भइरहेका छन्। उनको यस्तो नेतृत्व र सक्रियताले अन्य सुरक्षाकर्मीहरूमा थप ऊर्जा र आत्मबल बढाएको प्रहरी स्रोतले जनाएको छ।
अविरल वर्षासँगै डुबान, पहिरो र जनधनको जोखिम बढ्न सक्ने भन्दै उपत्यका प्रहरी कार्यालयले निरन्तर सतर्कता अपनाएको जनाएको छ।
