काठमाडौं । हालैको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानका घटनाले जनजीवन अस्तव्यस्त बनेको छ।
सयौं परिवार विस्थापित भएका छन् भने धेरैजना अझै राहतको प्रतीक्षामा छन्।
यस्तो कठिन समयमा सफल पर्यटन व्यवसायी तथा मानवसेवी टासी लाक्पा शेर्पाले सहयोगको हात अघि बढाउँदै उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।
शेर्पाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै बाढी–पहिरो प्रभावित नागरिकहरूका लागि २५० भन्दा बढी क्याम्पिङ टेन्ट अन्य अत्यावश्यक सामग्रीहरू उपलब्ध गराउने घोषणा गरेका छन्।
उनका अनुसार, उक्त सामग्रीहरूको मूल्य करिब एक लाख अमेरिकी डलर बराबरको हुनेछ।
फेसबुकमा उनले लेखेका छन्,
“यो कठिन समय हामी सबै मिलेर पार गरौँ। एक–अर्कालाई सहयोग गरौँ, साथ दिऔँ।”
नेपालको पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभवका साथ विश्वभर नेपालको नाम चम्काएका शेर्पाले विपद्को बेला देखाएको मानवीय भावनाले सर्वसाधारणदेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्म सबैको मन छुने काम गरेको छ।
संकटका क्षणमा व्यक्तिगत पहलमार्फत गरिएको यो सहयोगलाई धेरैले “साँचो देशप्रेम र मानवीयताकाे उदाहरण” भन्दै प्रशंसा गरेका छन्।

