काठमाडाैं । डोटी जिल्लाको शिखर नगरपालिका–८ तिलतालीमा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ तिलतालीका २८ वर्षीय शंकर बलायर सडकमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन्।
गोपघाटस्थित डा. के.आई. सिंह राजमार्ग अन्तर्गत सडकमा घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरी निरीक्षक नवराज रावलका अनुसार, मृतक बलायरको टाउकोमा गम्भीर चोट देखिएको छ, जसले घटनालाई शंकास्पद बनाएको छ।
शुक्रबार मध्यराति करिब १२ बजे प्रहरीलाई मानिस सडकमा लडेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी तिलतालीबाट प्रहरी नायब निरीक्षक भुवन सिंह बोहराको नेतृत्वमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो।
थप अनुसन्धानका लागि प्रहरी निरीक्षक रावलको कमाण्डमा ९ जनाको थप टोली परिचालित गरिएको छ।
मृतक बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए।
उनी दशैं मनाउन असोज ७ गतेदेखि १८ दिनको घर बिदामा आएका थिए।
मृतकका आफन्तले घटनालाई शंकास्पद भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन्।