गणेश विक, काठमाडौं ।
नेपाल प्रहरीमा उच्च तहको संगठनात्मक संरचना फेरबदल भएसँगै चारवटा प्रहरी नायब महानिरीक्षक (डीआईजी) का पद रिक्त भएका छन्।
गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको निर्णयअनुसार हालै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चार जना डीआईजीहरूको बढुवा भएपछि यो स्थिति सिर्जना भएको हो।
असोज १२ गते बढुवा भएर एआईजी बनेका अधिकारीहरूमा सुशीलकुमार राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर विक रहेका छन्।
उनीहरूको बढुवा पश्चात रिक्त बनेका डीआईजी पदहरूमा नियुक्तिको प्रक्रिया प्रारम्भ हुने क्रममा रहेको छ।
यसका लागि हाल वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूबीच बढुवा प्रतिस्पर्धा तीव्र देखिएको छ।
विश्व अधिकारी वरिष्ठतामा पहिलो स्थानमा छन् भने भूपेन्द्र खत्री दोस्रो र सानुराम भट्टराई तेस्रो स्थानमा छन्। यस्तै, चौथोमा ओम अधिकारी, पाँचौँमा शेखर खनाल, छैटौँमा अभिनारायण काफ्ले, सातौँमा सोमेन्द्रसिंह राठोर, आठौँमा मुकुन्द मरासिनी, नवौँमा दीप शमशेर जबरा रहेका छन्।
अन्य प्रतिस्पर्धीहरूमध्ये र दशौँमा गोपालचन्द्र भट्टराई, ११ औँमा प्रविण पोखरेल, १२ औँमा गंगा पन्त, र १३ औँ स्थानमा कृष्णबहादुर पल्लीमगर छन्। त्यस्तै १४ औँमा विश्वमणि पोखरेल, १५ औँमा तारादेवी थापा, र १६ औँ स्थानमा प्रज्वल महर्जन छन्।
यी सबै एसएसपीहरू एकैपटक २०८० साल वैशाख १५ गते बढुवा भएका थिए। वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा अब चाँडै डीआईजी पदमा बढुवा प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
यी सबै अधिकारीहरू २०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनीहरू एउटै ब्याचका अधिकृत भएकाले अब हुने बढुवा प्रतिस्पर्धा निकै कडा हुने अनुमान गरिएको छ ।
हालैका एआईजी बढुवा र सरुवापछि खाली भएका डीआईजी पदमा बढुवा गर्नुपर्ने भए पनि प्रहरी प्रधान कार्यालयले हालसम्म सिफारिस प्रक्रिया अघि बढाएको छैन । बढुवा समितिको बैठक बसेपछि ती चार पदमा प्रतिस्पर्धीहरूको अन्तिम सूची तयार हुने बताइन्छ ।
स्रोतका अनुसार बढुवामा मेरिट, अनुभव, नेतृत्व क्षमता र विगतको मूल्याङ्कनलाई मुख्य आधार बनाइनेछ । आगामी बढुवा निर्णयले प्रहरी नेतृत्वमा नयाँ शक्ति सन्तुलन कायम गर्ने विश्लेषण पनि प्रहरी वृत्तभित्र भइरहेको छ ।
नेपाल प्रहरीका विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओम अधिकारी, सोमेन्द्रसिंह राठौर, गंगा पन्त र तारादेवी थापाजस्ता अधिकारीहरू संगठनभित्र अब्बलका रूपमा मानिन्छन्।
उनीहरूको सार्वजनिक काम गर्ने शैली, नेतृत्व क्षमता र पूर्वपदहरूबाट प्राप्त अनुभवले यो प्रतिस्पर्धा अझ रोचक बनाएको छ।
विश्व अधिकारी अहिले काठमाडौं प्रहरी प्रमुख र सह-प्रवक्ता हुँदै सूचना/प्रवक्ता विभागमा सक्रिय छन् भने भुपेन्द्र खत्रीले रौतहटमा एसपीका रुपमा उल्लेखनीय भूमिका खेलेका थिए र काठमाडौं प्रहरी प्रमुखका रूपमा काम गरिसके ।
सानुराम भट्टराईले पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको सफल कमाण्ड सम्हालेर चर्चामा आएका अधिकृत हुन् । इमान्दार प्रहरीको रुपमा चिनिएका भट्टराईले ठुला ठुला मुद्दामा सफलता हात पारेका थिए ।
यस्तै सोमेन्द्र सिंह राठौरले पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड सम्हाल्दा चर्चित केसहरुको सहज रुपमा अनुसन्धान गरि टुंगोमा पुर्याएका थिए ।
गृह मन्त्रालयको तयारी
गृह मन्त्रालयले चाँडै बढुवा समितिको बैठक डाक्ने तयारी गरिरहेको स्राेतले बताइएको छ। रिक्त पदमा योग्य र सक्षम अधिकृतहरूलाई अघि ल्याउने लक्ष्यसहित यो प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।
प्रहरी संगठनको भविष्य तय गर्ने घडी
डीआईजी पदमा हुने बढुवालाई नेपाल प्रहरीको आगामी नेतृत्व विकासका दृष्टिकोणले समेत महत्त्वका साथ हेरिएको छ।
एआईजी तथा भविष्यका आइजिपी बन्ने सम्भावित नेतृत्व यसै तहबाट उक्लिने भएकाले यो दौडले संगठनभित्र गहिरो चासो र प्रतिस्पर्धा उत्पन्न गराएको छ।
