काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले बरियताका आधारमा चारजना नायब महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ । बढुवामा सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बरबहादुर विक परेका छन् ।
यी चारै जना हाल डिआईजी स्तरमा सबैभन्दा सिनियर अधिकारी थिए । सरकारले बरियताअनुसार बढुवा गर्दा प्रहरी संगठनभित्रको चेन अफ कमाण्ड सुरक्षित भएको छ । यससँगै प्रहरीभित्र निष्पक्षता र शुद्धिकरणतर्फको सन्देश गएको टिप्पणी गरिएको छ ।
विशेषतः गुप्तचर सेवाबाट नेपाल प्रहरीमा आएका यी अधिकारी कार्यसम्पादनमा अब्बल भए पनि, विगतमा विभिन्न राजनीतिक हस्तक्षेपका कारण पछि पारिएका थिए । तर, यसपटक सरकारले परम्परागत ‘राजनीतिक भागबन्डा’ र ‘दबाब’ भन्दा बाहिरिएर संस्थागत मर्यादालाई प्राथमिकता दिएको देखिएको छ ।
यसअघि बढुवामा क्षमता भन्दा बढी सम्बन्ध र पहुँचको खेल चल्ने गरेको थियो । कमजोर कार्यक्षमताका अधिकारीलाई समेत राजनीतिक सिफारिसमा अगाडि ल्याउने प्रचलनले प्रहरी संगठनमा असन्तोष बढाएको थियो । तर, हालको बढुवाले त्यो परम्परा तोडिएको अनुभूति भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
गृहमन्त्री ओम प्रकाश अर्याल र प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको यो निर्णयलाई प्रहरीभित्रै मात्र नभई बाहिरी वृत्तमा पनि सकारात्मक दृष्टिले हेरिएको छ । कठिन अवस्थामा रहेका प्रहरी संगठनमा यो बढुवाले मनोबल उच्च बनाएको र भविष्यमा मेरिटको आधारमा नै निर्णय गर्ने संस्कारलाई सबल पार्ने अपेक्षा गरिएको छ ।
