काठमाडौं । प्रहरी प्रधान कार्यालयले केही उच्च प्रहरी अधिकारीको सरुवा गर्दै नयाँ जिम्मेवारी तोकेको छ। निर्णयअनुसार, राजन अधिकारी अ.अ. विभागबाट मानवस्रोत विभागमा स्थानान्तरण भएका छन् भने सिद्धिविक्रम शाह कार्य विभागबाट प्रहरी एकेडेमी, महाराजगन्जमा सरुवा भएका छन्।
राजन अधिकारीले प्रहरी सेवा क्षेत्रमा लामो अनुभव बाँडेका छन्। मानवस्रोत विभागमा उनको नियुक्तिले प्रशिक्षण, कर्मचारी व्यवस्थापन र भर्ती प्रक्रियामा सुधार आउने अपेक्षा गरिएको छ। यससँगै, मानवस्रोतको रणनीतिक योजना र क्षमता विकासमा उनको अनुभवले महत्वपूर्ण भूमिका खेल्नेछ।
यसअघि मानव स्रोत विभागका प्रमुख रहेका एआइजी दान बहादुर कार्कीको उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएको थियो ।
सिद्धिविक्रम शाहलाई प्रहरी एकेडेमी महाराजगन्ज पठाइँदा, नयाँ नेतृत्वले प्रशिक्षण र तालिम कार्यक्रमलाई व्यवस्थित गर्दै दक्ष प्रहरी उत्पादनमा जोड दिने लक्ष्य राखेको छ। उनले कार्य विभागमा देखाएको कार्यक्षमता र संगठनमा समर्पणको आधारमा यो जिम्मेवारी दिइएको बताइएको छ।
यस्तै प्रहरी एकेडेमी प्रमुख रहेका सुदिप गिरी अनिवार्य अवकाशमा गएपछि खाली थियो।
प्रहरी प्रधान कार्यालयका अनुसार, यी सरुवा अधिकारीहरूको अनुभव र क्षमता अनुसार संगठनको सशक्तिकरण र सुधारमा योगदान पुर्याउने विश्वास गरिएको छ।
