काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा सिफारिस गरेको छ । स्रोतका अनुसार प्रधान कार्यालयको सिफारिसअनुसार गृह मन्त्रालयले ३ जना एसएसपीको सरुवाको तयारी थालेको हो ।
यसअन्तर्गत केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा कार्यरत एसएसपी होविन्द्र बोगटीलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सिफारिस गरिएको छ । संगठनभित्र अब्बल र क्षमतावान अधिकृतका रुपमा परिचित बोगटी यसअघि पनि अनुसन्धान क्षेत्रमा सक्रिय मानिँदै आएका छन् ।
त्यसैगरी ललितपुर प्रहरी प्रमुख रहेका एसएसपी श्यामकृष्ण अधिकारीलाई प्रहरी प्रधान कार्यालय फिर्ता सिफारिस गरिएको छ । यस्तै, सिआइबीमा कर्णाली प्रदेश प्रहरीबाट एसएसपी शिवकुमार श्रेष्ठलाई पठाउने तयारी भएको छ ।
एक साताअघि मात्रै काठमाडौं र भक्तपुर प्रहरी प्रमुखको पनि सरुवा भएको थियो ।
