काठमाडौं । जेनजी आन्दोलनका क्रममा जेलबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तद्वय केशवप्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनको क्रममा मौकाको फाइदा उठाएर ५२ वर्षीय दुलाल र ५५ वर्षीय भण्डारी केन्द्रीय कारागार, जैसीदेवल, सुन्धाराबाट फरार भएका थिए ।
उनीहरूलाई ललितपुरको धापाखेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो । मोरङको पथरी नगरपालिका-१० स्थायी ठेगाना भएका दुलाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका छन् । भण्डारी ललितपुर महानगरपालिका-२३ धापाखेल निवासी हुन् ।
एआईजी दानबहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै काठमाडौं उपत्यकाभित्रका कारागारहरूबाट फरार भएका कैदी बन्दीहरूलाई खोजतलास गरी पक्राउ गर्न विशेष आदेश दिएका थिए । एआईजी कार्कीको आदेशलगत्तै खोटिएको प्रहरी टोलीले भुटानी शरणार्थी प्रकरणका मुख्य नाइकेद्वय दुलाल र भण्डारी पक्राउ परेको हो ।
यसअघि, कार्की काठमाडौं प्रहरी परिसरको प्रमुख रहेका बेला भुटानी शरणार्थी प्रकरणमा दुलाल र भण्डारीसहितका अभियुक्तहरूलाई छानविन गरी अदालतमा मुद्दा चलाएका थिए । संयोग नै मान्नुपर्छ कार्की एआईजी बनेर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हाल्ने वित्तिकै फरार दुलाल र भण्डारी पक्राउ परेका छन् ।
कारागारबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका अर्का अभियुक्त तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको पनि खोजतलास जारी छ । पाण्डेलाई पनि प्रहरीले छिट्टै पक्राउ गरेर जेल पठाउनेछ ।
