काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा जलेका भनिएका नोट र जलेको घरको घटना मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ।
विभागको टोलीले मंगलबार दाहालको खुमलटारस्थित निवासमा पुगेर जलेका भनिएका नोट र घटनास्थलको विवरण संकलन गरी मुचुल्का तयार पारेको हो।
भदौ २४ गते भएको तोडफोड र आगजनीमा सरकारी र सार्वजनिक संरचना, दलका पार्टी कार्यालय र नेताका निवासहरू समेत निशानामा परेका थिए। त्यसक्रममा दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन मन्त्री दीपक खड्कासहितका घरमा आगजनी भएको थियो।
आगजनीपछि घरमा राखिएको भनिएको रकम जलेको अवस्थामा देखिने भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए। त्यसपछि रकमको स्रोत र घरमा राखिएको कारणबारे प्रश्न उठेको थियो।
सम्पत्ति शुद्धीकरण विभागले अब सो रकमको स्रोत, कानुनी स्थिति र सम्पत्ति शुद्धीकरणसम्बन्धी सम्भावित मुद्दा अनुसन्धान अघि बढाएको जनाएको छ। हाल दाहालको निवासमा प्रहरीले सुरक्षा कडा पारेको छ र बाहिरका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको छ।
यस्तै विभागले असोज ६ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको थियो ।
