काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल अझै कार्यालय फर्किएका छैनन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सुरक्षा दिन नसकेको र सुरक्षाकर्मी परिचालन सही ढंगले गर्न नसकेको आरोप उनीमाथि छ।
सिडिओ रिजालमाथि प्रदर्शनमा उत्रिएका गोली चलाउन आदेश दिएको आरोप खेपे। उनकै कारण जेनजी प्रदर्शनकारीको ज्यान गएको भन्दै केही प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर तोडफोड पनि गरे।
त्यतिबेला उनी कार्यालयबाट निस्किसकेका थिए। पहिलो दिन (भदौ २३) मा नै उनीमाथि सुरक्षा खतरा बढेको अनुमानपछि जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट उनको तस्बिर हटाइयो। अहिलेसम्म पनि उनको तस्बिर वेबसाइटमा राखिएको छैन, नाम मात्रै उल्लेख छ।
गृह मन्त्रालय स्रोतका अनुसार, अवस्था अझै सहज नबनेकोले उनी कार्यालयमा नफर्किएका हुन्।
‘उहाँ सकुशल र सुरक्षित ठाउँमा हुनुहुन्छ तर बाहिरको वातावरण अझै शान्त नभएकोले कार्यालयमा नजानुभएको जानकारी पाएका छौं,’ मन्त्रालयका ती अधिकारीले भने, ‘बाहिरको मास सेटल भइसकेको छैन। यति ठूलो घटना भइसकेपछि सायद अब सरूवा पनि हुन्छ होला।’
गत भदौ ४ गते मात्र उनले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका थिए।
