काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठले भदौ २४ गते आन्दोलनका क्रममा ध्वस्त भएको ट्राफिक कन्ट्रोल रूम बनाइदिने भएका छन् ।
श्रेष्ठले बताएअनुसार, ‘ट्राफिक कन्ट्रोल रूम नभएका कारण सुरक्षा चुनौती बढेको छ र दुर्घटना घटना बढ्ने खतरा समेत छ। हामीले एक करोडको लागतमा पहिलेभन्दा सुविधासम्पन्न र प्रविधियुक्त कन्ट्रोल रूम निर्माण गर्ने योजना बनाएका छौं। दसैंअघि नै यसलाई सञ्चालनमा ल्याउने लक्ष्य छ।’
उनले थपे, ‘दोस्रो चरणमा कस्तो सहयोग गर्न सकिन्छ, त्यसका लागि पनि हामी तयार छौं।’ ट्राफिक कन्ट्रोल रूम नभएकै कारण मापसे परीक्षण लगायतका गतिविधिहरूमा कठिनाइ भएको उनले बताए।
नेपाल प्रहरीका लागि अत्यन्त जरुरी पर्ने ट्राफिक कन्ट्रोल रूम निर्माणमा एनआरएनएको सहयोगको महत्त्वपूर्ण योगदान रहने उनले उल्लेख गरे।
नेपाल प्रहरीका ट्राफिक प्रहरी प्रमुख तथा वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले एनआरएनएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्नुपर्नेमा जोड दिएका छन्।
उनले भने, ‘हाल कार्यालयको सेवा टेन्टबाट सञ्चालन भइरहेको छ। कन्ट्रोल रूम सञ्चालनमा आएपछि धेरै काम सहज हुने छ।’
यो पहलले प्रहरी–एनआरएनए बीच सहकार्य सुदृढ गर्ने र राजधानीमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
