काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुबेर खापुङले आफ्नै भतिजा कैलाश लिम्बु खापुङलगायत ७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गर्दा संगठनभित्र चर्को विवाद सिर्जना भएको छ ।
सूचीमा मोरङ सिजुवा इप्रका सरुवा भएका कैलाश मात्र होइन, इन्स्पेक्टर दिपक थापा पनि परेका छन् । थापाको इलाका प्रहरी कार्यालय मनहरी, हेटौंडा सरुवा भएको छ ।
यस्तै, काज सरुवामा दानबहादुर मिरिङ्चिङ पनि परेका छन् । सिराहाको ट्राफिक कार्यालयमा १६ महिना कार्यरत उनी अहिले उदयपुर ट्राफिकमा पठाइएका छन् । उनी पनि ‘क’ श्रेणीकै कार्यालयमा सरुवा भएका हुन् । अकुत सम्पति आर्जन गरेको आरोप लागेका उनी समेत विवादित अधिकृत हुन् ।
त्यसैगरी, सातदोबाटो ट्राफिक र धादिङ ट्राफिकमा कार्यरत रहेका इन्स्पेक्टर शालिकराम तिमल्सिनालाई सिराहा ट्राफिक पठाइएको छ । धादिङ ट्राफिकबाट उनी आकर्षक मानिएको स्रोहखुट्टे बृत सरुवा भएका थिए । अहिले उनी स्रोहखुट्टेबाट सिराहा ट्राफिक पठाइएको हो ।
शक्तिको दुरुपयोग गर्दै तिमिल्सनाले ३-३ वटा इन्चार्ज पाउँदा केही इन्सपेक्टरहरुले अहिलेसम्म एउटा पनि इन्चार्ज पाएका छैनन् । आफ्नो र शक्तिको आडमा सरुवा बढुवा हुने हुँदा इमान्दार र व्यवसायीक प्रहरीहरु सधैं मारमा पर्ने गरेका छन् ।
विशेषतः, नियमित सरुवा प्रक्रियालाई प्रभावित पार्दै आईजी खापुङले व्यक्तिगत प्राथमिकता अनुसार काज सरुवा गर्नु प्रहरी संगठनका लागि गलत उदाहरण बनेको छ । यसले संगठनभित्र विश्वास र निष्पक्षताको भावना कमजोर पार्ने भन्दै प्रहरी अधिकृतहरु असन्तुष्ट छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले नियमित सरुवा प्रक्रिया अघि बढाउन निर्देशन दिए पनि आईजी खापुङले आदेश बेवास्ता गरेको आरोप छ । भतिजा कैलाश र दिपक थापाको सरुवाले ‘हाम्रालाई काखी च्याप्ने प्रवृत्ति’लाई अझ स्पष्ट पारेको स्रोतहरूले बताएका छन् ।
गृहमन्त्री अर्यालले आदेश फिर्ता गर्ने विषयमा छलफल थालेका छन्। तर, प्रहरी संगठनभित्रको शक्ति सन्तुलन र आईजीसँग प्रत्यक्ष टकराव गर्ने हिम्मत देखाउँछन् वा देखाउँदैनन् त्यो हेर्न बाँकी छ ।
प्रहरी प्रधान कार्यालयको निरीक्षणको क्रममा गृहमन्त्री अर्यालले सिस्टमअनुसार मात्र सरुवा/बढुवा हुने बताएका थिए । आफुले त्यस्तो सरुवा-बढुवा भएको थाहा पाएमा तत्कालै खारेज गर्ने चेतावनी दिएका थिए । तर, अहिले इन्सपेक्टर काज सरुवा यसरी विवादित हुँदा उनले रोक्न सक्छन् त ?
