काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार नियमित सरुवा प्रक्रिया रोकेर ७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ । सूचीमा प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुबेर खापुङका भतिजा कैलाश लिम्बु खापुङ पनि परेका छन् ।
उनी मोरङ सिजुवा इलाका प्रहरी कार्यालयमा पठाइएका छन् ।
गृहमन्त्री ओम प्रकाश अर्यालले नियमित सरुवा निकाल्न निर्देशन दिएपनि आईजीपी खापुङले उनको कुरालाई वेवास्ता गर्दै काज आदेश जारी गरेका हुन् ।
मोरङको सिजुवा इन्स्पेक्टरको लागि आकर्षक ठाउँ हो । आर्थिक आम्दानी राम्रो हुने सिजुवाबाट बिना भन्सार ठूलो मात्रा किराना आइटम ल्याएर उदयपुरको गाइघाट पुर्याउने गरिन्छ । जुनकुरामा धेरैको आँखा पर्दैन । सोहीकारण कैलाशलाई आईजी खापुङले सिजुवा पठाएका हुन् ।
खापुङ आईजी नियुक्त भएपछि कैलाशले सामाजिक सञ्जालमा ‘काका’ भन्दै बधाईसहितको तस्बिर सार्वजनिक गरेका थिए । जुन फोटोको स्क्रिनसर्ट हेर्नुहोस् ।

सुरुमा आईजी खापुङले कैलाशको मात्र एकल काज सरुवा गर्ने तयारी गरेका थिए । तर, विवादमा आउने थाहा पाएपछि उनले आफूनिकटका अरु ६ जनाको पनि काज निकालेका हुन् । जसमा सबै विवादित इन्स्पेक्टर मात्र परेका छन् ।
यहाँ रोचक कुरा त के भने कैलाश ०७५ सालको असईको ब्याचमेट हुन् । उनको पासआउट कार्यक्रममा तत्कालीन प्रहरी उपरीक्षक (एसपी) रहेका खापुङ आफैं काठमाडौंबाट भरतपुर तालिम केन्द्र पुगेका थिए ।
स्वच्छ छविका रुपमा चिनिएका आईजी खापुङले प्रमुख भएपछि संगठनमा आफ्नालाई काखी च्याप्ने प्रवृत्ति हट्ने अपेक्षा थियो । तर, पछिल्ला काज सरुवाले राम्रा अधिकृतलाई पन्छाएर ‘हाम्रा’लाई काखी च्याप्न थालेको आरोप लाग्न थालेको छ ।
छोटो समयको कार्यकाल भएपनि आईजी खापुङ यस्ता गतिविधि रोक्न तम्तयार होलान् भन्ने धेरै प्रहरी अधिकृतहरुको विश्वास थियो । तर, राम्रालाई होइन, हाम्रालाई काखी च्याप्न थालेपछि गृहमन्त्री अर्यालले समेत चासो देखाएको स्रोत बताउँछ ।
