काठमाडौं । जेएनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी हत्यामा संलग्न मुख्य आरोपितसहित २ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य आरोपित सिन्धुपाल्चोकका ओम पौडेललाई पक्राउ गरेको हो । यस्तै काभ्रेका युवराज क्यापफाकी समेत पक्राउ परेका छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलन उग्र बन्दा प्रदर्शनकारीहरुले प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको कुटी-कुटी हत्या गरेका थिए ।
प्रहरीले सामाजिक सञ्जालमा आएको भिडियो, सीसीटिभी फुटेजमा देखिएको अनुहारका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी जवान थापालाई कुटेको दृश्य तलको भिडिओमा हेर्नुहोस् ।
असई रायको हत्यामा पक्राउ परेका पौडेल मुख्य व्यक्तिको रुपमा देखिएका छन् । उनले आन्दोलनकारीको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा सडकमा छटपटाइरहेका रायमाथि काठको मुङ्ग्रो प्रहार गरेका छन् ।
उनले असई रायमाथि निकैपटक मुख, टाउको र शरिरका अन्य भागमा समेत प्रहार गरेको भिडियोमा देखिन्छ । अनुसन्धानमा संलग्न प्रहरीकाअनुसार उनी धुम्बाराहीमा किराना पसल सञ्चालन गर्दै आइरहेका थिए ।
पौडेलकै उक्साहटमा अन्यले समेत असई रायमाथि निर्मम प्रहार गरेको भिडियोमा स्पष्ट देखिन्छ । भिडिओकै आधारमा युवराज क्यापफाकी पनि पक्राउ परेका हुन् । उनले समेत भिडिओमा कुटपिटबाट सडकमा छटपटाइरहेका प्रहरीमाथि कुटपिट गरेको देखिन्छ ।
असई रायको घर सिन्धुली हो भने जवान थापाको घर दार्चुला हो । जवान थापालाई त डिएसपी भन्दै कुटपिट गरी हत्या गरिएको थियो । ‘गोली हान्न दिने तै डीएसपी हैनस्’ भन्दै कुटेर हत्या गरिएको थियो ।

हत्यामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अदालतले उनीहरुमाथि अनुसन्धान गर्न प्रहरीलाई १० दिन म्याद दिएको छ ।
उच्छृङ्खल समूहले प्रहरीको हत्यासँगै वृत्तमा आगजनी गरेका थिए । त्यस्तै सोही आन्दोलनको क्रममा प्रहरी प्रभाग कोटेश्वर कास्की घर भएका सहायक हवल्दार अमृत गुरुङको पनि हत्या गरिएको थियो ।
![घाइते अवस्थामा सडकमा छटपटाइरहेका प्रहरीको यसरी गरिएको थियो कुटी-कुटी हत्या [भिडिओ]](https://scoopkhabar.com/wp-content/uploads/2025/09/police-death-1024x512.jpg)