काठमाडौं । नेपाल प्रहरीमा प्रशासनिक जटिलता र राजनीतिक हस्तक्षेपका कारण २१ दिनदेखि अतिरिक्त महानिरीक्षक (एआईजी) को चार पद खाली रहेका छन्। १८ भदौमा दिपक थापाको ब्याचमेट अवकाशमा गएपछि रिक्त भएको पदमा अहिलेसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन।
बीचमा जेएनजी आन्दोलन भड्किँदा सरकारले बढुवा प्रक्रियालाई केही पर धकेल्यो। तर आन्दोलन शान्त भए पनि सुशीला कार्की नेतृत्वको सरकारले अझैसम्म बढुवा टुंग्याउन सकेको छैन।
गृहमन्त्री विवादमा, बढुवामा प्रभाव
गृह मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री ओम प्रकाश अर्याल आफैं करोडौं रुपैयाँको घोटाला प्रकरणमा मुछिएका छन्। जेएनजी आन्दोलनका क्रममा प्रहरी कर्मचारीको पोसाक जलेर नष्ट भएपछि नयाँ कपडा खरिद प्रक्रियामा गृहमन्त्रीको नाम समेत जोडिएको छ।
यसले बढुवाको वातावरणलाई झनै जटिल बनाएको छ।
एआईजी बढुवाको प्रमुख दाबेदारमा प्रबन्ध शाखामा कार्यरत डिआईजी सुशील सिंह राठौर रहेका छन्। राठौरसँगै उमा प्रसाद चतुर्वेदी, डम्बर विक र हिमालय कुमार श्रेष्ठ पनि एआईजी बढुवाका मुख्य प्रतिस्पर्धी मानिन्छन्।
एआईजी स्तरमा बढुवा रोकिँदा तल्लो तहका प्रहरी कर्मचारीको वृत्ति विकासमा ठूलो असर परेको प्रहरी स्रोत बताउँछ। पदोन्नति प्रक्रियाको ढिलाइले संगठनभित्र असन्तुष्टि बढ्दै गएको छ।
