काठमाडौं । नेपालको एक मात्र गुप्तचर निकाय, राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को नेतृत्व अब्बल र सक्षम मानिएका टेकेन्द्र कार्कीले पाएका छन्। गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको हो।
हालै अवकाश प्राप्त गरेका तत्कालीन प्रमुख हुतराज थापाको ब्याचमेट रहेका कार्कीलाई गुप्तचर क्षेत्रमा अनुभव, विश्लेषण क्षमता र संगठनात्मक दक्षताको कारण उपयुक्त मानिएको बताइन्छ।
कार्कीसँगै मुख्य निर्देशक पदमा ओमप्रकाश जोशी पनि प्रतिस्पर्धामा रहेका भएपनि अन्ततः मन्त्रिपरिषद्ले कार्कीलाई छनोट गरेको हो। कार्की लामो समयदेखि विभागभित्र जिम्मेवारीसहित काम गर्दै आएका छन् र विभिन्न संवेदनशील सूचनाको विश्लेषण तथा व्यवस्थापनमा दक्ष मानिन्छन्।
विभागभित्र कार्कीलाई कर्तव्यनिष्ठ, अनुशासित र कार्य सम्पादनमा सक्षम व्यक्तिका रूपमा हेरिन्छ। उनले विभागमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा रहेर कार्यानुभव बटुलेका छन्। सहकर्मीहरूका अनुसार उनले संवेदनशील समयमा पनि शान्त, विवेकपूर्ण निर्णय गर्ने क्षमता प्रदर्शन गर्दै आएका छन्।
गुप्तचरको भूमिका
गुप्तचर विभागको काम मुलुकको सुरक्षा हितलाई संरक्षण गर्ने मूल जिम्मेवारीसँग जोडिएको हुन्छ। राजनीतिक स्थिरता, राष्ट्रिय सुरक्षा, आन्तरिक शान्ति, अन्तर्राष्ट्रिय सम्बन्धमा उत्पन्न हुने चुनौतीबारे समयमै सूचना संकलन र विश्लेषण गर्ने कार्य गुप्तचरको प्रमुख दायित्व हो।
देशमा विपद् व्यवस्थापनदेखि आतंकवाद, आपराधिक गिरोह, अन्तर्राष्ट्रिय अपराध र विदेशी गतिविधिसम्म निगरानी राख्ने काम गुप्तचर संयन्त्रको जिम्मामा पर्दछ।
विशेषज्ञहरूका अनुसार गुप्तचर प्रमुखले असाधारण विवेक, राजनीतिक निष्पक्षता, विश्लेषणात्मक दृष्टि र गोपनीयतामा पूर्ण प्रतिबद्धता राख्न सक्नुपर्छ। साथसाथै सरकारलाई तथ्यमा आधारित सल्लाह दिन सक्ने क्षमता पनि अनिवार्य गुण मानिन्छ।
नयाँ अपेक्षा
राअ देशको सुरक्षा संयन्त्रमा मेरुदण्डसरह निकाय भएकाले नयाँ प्रमुखप्रति सरकार, सुरक्षा निकाय र जनस्तरबाट विशेष अपेक्षा रहेको छ। नेपालमा पछिल्ला वर्षमा आन्तरिक राजनीतिक अस्थिरता, अन्तर्राष्ट्रिय शक्तिहरूको चासो, खुला सीमा र गैरकानुनी गतिविधिका कारण गुप्तचर निकायमाथि थप दायित्व बढेको छ।
यस सन्दर्भमा कार्कीले विभागलाई राजनीतिक दबाबभन्दा माथि उठाएर व्यावसायिक र परिणाममुखी बनाउनुपर्ने चुनौती छ। मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेको बेलामा उनको नेतृत्वले विभागलाई अझ सक्षम र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
कार्की ०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका हुन्।
