ललितपुर । जेनजी समूहद्वारा आह्वान गरिएको विरोध कार्यक्रमको क्रममा प्रहरी चौकीमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
ललितपुर प्रहरीका अनुसार महानगरपालिका–२ सानेपाकी २४ वर्षीया सृष्टी तामाङ र बैतडीको मलौली नगरपालिका–९ घर भई हाल ललितपुर महानगरपालिका–१० कुपण्डोल बस्ने २४ वर्षीय धिरेन्द्र चन्दलाई पक्राउ गरिएको हो।
उनीहरूलाई प्रहरी प्रभाग हनुमानस्थान, कुपण्डोलमा भदौ २४ गते गरिएको तोडफोड तथा आगजनी प्रकरणमा संलग्न रहेको प्रमाण फेला परेको ललितपुर प्रहरी परिसरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए।
उनका अनुसार आन्दोलनकै क्रममा सरकारी सम्पत्तिसँगै प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामान (पोशाक तथा अन्य सामग्री) मा समेत क्षति पुर्याइएको थियो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर–भिडियो तथा विशेष सुराकका आधारमा पहिचान गरिएका उनीहरूलाई भदौ २९ गते कुपण्डोलबाटै पक्राउ गरिएको हो।
हाल उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
