काठमाडौं । नेपाल प्रहरीमा हालै गरिएको ४८ जना प्रहरी उपरीक्षक (एसपी) सरुवाले फेरि राजनीतिक हस्तक्षेप र भागबन्डाको गन्ध फैलाएको छ । छोटो समयमै, कुनै स्पष्ट कारणबिनै जिल्लाबाट तानिएका एसपीहरूको सरुवाले प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेप र भागबन्डाको गन्ध हो ।
बाँकेका एसपी रामप्रसाद घर्तीमगर ५ महिनामै सरुवा भए । कुनै गल्ती नभएको तर बिनाकारण तानिएकोमा प्रहरीभित्र असन्तोष छ । घर्तीमगरको ठाउँमा भने संगठनकै अब्बल एसपी मानिएका अंगुर जिसी पुगेका छन् ।
यस्तै, ‘आकर्षक जिल्ला’ मानिने पर्सामा कार्यरत एसपी गौतम मिश्र पनि ७ महिनामै तानिए । मानव बेचबिखन नियन्त्रणदेखि प्रशासनिक सुधारसम्मका क्षेत्रमा उल्लेख्य काम गरेर पुरस्कृतसमेत भएका मिश्रलाई अचानक सरुवा गरिनु चर्चाको विषय बनेको छ ।
एसपी मिश्रको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एसपी सुदीपराज पाठक पठाइएका छन्, जसलाई अख्तियार प्रमुख प्रेम राईको प्रभावकै परिणाम मानिएको छ ।
यसरी छोटो अवधिमै गरिएको सरुवाले प्रहरी संगठनमा स्थायित्वभन्दा पहुँचलाई प्राथमिकता दिइएको पुष्टि गरेको छ । प्रहरीभित्र राजनीतिक चलखेल हावी भएको विश्लेषण सुरु भएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीमा नवीन कार्की पठाइएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा कमान्डमा बसेका कार्कीलाई पठाउन एमालेको प्रत्यक्ष छायाँ देखिएको छ ।
मकवानपुरमा सुवासचन्द्र बोहरा, मोरङमा कवित कटवाल, सुनसरीमा केशवकुमार थेवे, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दीपेन्द्र पंजियार थारु, कपिलवस्तुमा सन्तोष आचार्य, डोटीमा महेन्द्र नेपाल र भक्तपुरमा सूर्यबहादुर खड्का सरुवा भई प्रमुख बनेका छन् ।
विशेषगरी मोरङ पुगेका कटवाल पनि अख्तियार प्रमुख राईकै आशीर्वादमा सरुवा भएको चर्चा छ भने सुनसरी पुगेका केशवकुमार थेवे नेपाली कांग्रेस झापा सभापति देउमान थेवेका नातेदार हुन् ।
सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र चन्दकै दरबन्दी कायम भएको छ।
संगठन प्रमुख चन्द्रकुवेर खापुङले यसपटक सरुवालाई राजनीतिमुक्त बनाउन सक्ने अवस्था देखिएको भए पनि नेताहरूको दबाब थेग्न नसक्दा उल्टै झनै विवादास्पद भएको प्रहरीभित्र टिप्पणी छ ।
