काठमाडौं । प्रहरी सेवामा अनुशासित, स्पष्ट धार र परिणाममुखी शैलीका रुपमा चिनिने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले काठमाडौंको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालको बिहीबारको मन्त्रीस्तरीय निर्णयपछि काठमाडौं प्रहरी प्रमुखमा थापाको सरुवा भएको हो ।
यसअघि प्रमुख रहेका एसएसपी विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । जेनजी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गरेको भन्दौ विवादमा ल्याएपछि अधिकारीलाई हटाइएको हो ।
अनुशासन र परिणाममा कठोर थापा
थापा आफ्नो ब्याचमै एक नम्बरमा रहेका अधिकृत हुन् । प्रहरी संगठनभित्र उनी ‘अनुशासनमा कठोर तर परिणाममा लचकदार’ अधिकारीको रुपमा चिनिन्छन् । मातहतलाई अनुशासित तरिकाले काममा लगाउने उनको शैलीले अपराध नियन्त्रण र जनविश्वास दुवैमा सन्तुलन ल्याएको अनुभव धेरै जिल्लाले गरेका छन् ।
एसपी हुँदा थापाले कास्की र उदयपुर र डिएसपीमा गोरखामा प्रभावकारी नेतृत्व गरेका थिए । पोखरामा बढ्दो शहरी अपराध नियन्त्रणदेखि उदयपुरमा लागूऔषध नियन्त्रणमा उनले गरेको कार्यले प्रहरी संगठनभित्र उनको चर्चा हुने गर्छ ।
स्थानीय समुदायसँग नजिकिँदै काम गर्ने, सूचना संकलनलाई प्राथमिकता दिने र अपराध नियन्त्रणमा छिटो निर्णय लिन सक्ने क्षमताले उनलाई सफल कमाण्डरको पहिचान दिलाएको हो ।
थापालाई संगठनभित्र इमान्दार, कार्यसम्पादनमा अब्बल र विवादभन्दा टाढा रहने अधिकृतका रुपमा लिइन्छ । उनीसँग लामो समय काम गरेका अधिकृतहरूको भनाइमा थापाले मातहतलाई अवसर दिन्छन्, तर जिम्मेवारी पनि स्पष्ट माग्छन् । यही कारणले गर्दा उनी काम गर्ने क्षेत्रमा अपराध नियन्त्रणसँगै आन्तरिक व्यवस्थापनमा समेत सफल भएका छन् ।
अब राजधानी जस्तो संवेदनशील क्षेत्रमा कमाण्ड सम्हाल्नु उनको लागि अवसरसँगै ठूलो चुनौती पनि हो । काठमाडौं उपत्यका अहिले अपराध, आन्दोलन र राजनीतिक दबाबले संवेदनशील बनेको छ ।
यस्तो अवस्थामा राजधानी प्रहरीको जिम्मेवारी लिनु सजिलो छैन । तर थापाको विगतको अनुभवलाई आधार मानेर संगठनभित्र उनीबाट ठूला अपेक्षा राखिएको छ ।
जनताको सुरक्षा सुनिश्चित गर्न र प्रहरीप्रति विश्वास बढाउन उनले गर्ने कदम आगामी दिनमा राजधानीको शान्ति–सुरक्षासँगै उनको व्यक्तिगत छविको लागि पनि महत्वपूर्ण हुनेछ ।
