काठमाडौं । राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा आगलागीपछि जलेको अवस्थामा एक युवकको शव मंगलबार मात्र फेला परेको छ।
काठमाडौं महानगरपालिका–३२ भाटभटेनीको चौथो तलामा भेटिएको शव रामेछाप खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने २२ वर्षीय विकास रसाइलीको रहेको प्रहरीले पुष्टि गरेको छ।
बुधबार बिहान अन्दाजी ९:३० बजेतिर प्रहरीले अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको काठमाडौं प्रहरीले जनाएको छ।
घटनापछि आवश्यक प्रक्रिया पूरा गरी शवलाई शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागि पठाइएको छ। मृतकका बुबा पूर्णबहादुर रसाइली रहेका र उनका सम्पर्क नम्बर ९८४९९०१५३१ रहेको प्रहरीले जानकारी समेत दिएको छ।
उक्त घटनामा प्रहरी निरीक्षक यज्ञराज भट्टको कमाण्डमा ७ जना प्रहरी टोली खटिएको थियो। टोलीले कोटेश्वर प्रहरी प्रभागबाट करिब ८०० मिटर पश्चिम–दक्षिण दिशामा पुगेर मुचुल्का तयार पारेको हो।
जेएनजी आन्दोलनका क्रममा भाटभटेनीसहित विभिन्न स्थानमा आगजनी भएको थियो। सोही क्रममा रसाइली जलेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
