काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ र बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका–२२ को चुरीयामाई इलाकामा नेपाली सेनाको (७.५) ट्रक दुर्घटना हुँदा १७ जना सैनिक घाइते भएका छन्।
मंगलबार दिउँसो करिब २ः२८ बजे तनहुँको खैरेनीटारबाट धनुषातर्फ जाँदै गरेको श्री नं. २ राजदल गणको ट्रक दुर्घटनामा परेको हो। उ.से. हर्ष विक्रम अधिकारीको कमाण्डमा १ः२१ नफ्री फौज ‘प्रधान सेनापति व्यानर प्रतियोगिता’ अन्तर्गतको ट्याक्टिकल फायरिङ्गमा सहभागी हुन जाँदै गर्दा बा.१ ग. २८० नम्बरको ट्रक दुर्घटनामा परेको सेनाले जनाएको छ।
दुर्घटनामा घाइते भएका मध्ये ६ जनालाई गम्भीर चोट लागेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित वीरेन्द्र अस्पताल लगिएको छ। गम्भीर घाइते हुनेहरुमा हु. चक्र बहादुर बोहरा, हु. हिरामान माझी, अम. टिकाराम कँडेल, अम. सुनिल चौधरी, प्युठ भरत विक र सि. रोहित पाण्डे रहेका छन्।
त्यसैगरी अन्य ११ जना सैनिकहरुको मकवानपुरको जिल्ला अस्पताल हेटौँडा र न. ७ फि.ए. गुल्ममा उपचाररत छन्। उनीहरुमध्ये ३ जना अझै अस्पतालमै भर्ना छन् भने बाँकी ८ जना सामान्य उपचारपछि सोही दिन बेलुकी डिस्चार्ज भई ब्यारेक फर्किएका छन्।
सामान्य घाइते हुनेहरुमा उ.से. हर्ष विक्रम अधिकारी, जम. राजेन्द्र भट्टराई, रे.का.हु. क्षेत्र बहादुर दर्लामी, प्रा.हु. मिन बहादुर गुरुङ (सर्जिकल वार्ड),
प्युठ प्रदिप चौधरी, प्युठ नरसिंह थारु, गनर प्रकाश शाही, गनर बसन्त प्रसाद जैसी (सर्जिकल वार्ड), गनर अंकित वली, गनर संजय रैदास (सर्जिकल वार्ड) रहेका छन्।
दुर्घटनापछि सकुशल रहेका ५ जना सैनिकहरु पनि सुरक्षित रूपमा ब्यारेक फर्किएको सेनाले जनाएको छ। दुर्घटनापछि सकुशल रहेका प्युठ भोबिन मल्ल, गनर राजकुमार थारु, गनर विपिन विक, गनर जितेन्द्र थारु र गनर रोशन सार्की पनि सुरक्षित रूपमा ब्यारेक फर्किएका हुन्।
दुर्घटनामा परेको (७.५) ट्रकलाई निकाल्न सिभिल क्रेन प्रयोग गरिएको थियो । त्यसपछि उक्त ट्रकलाई सुपारेटार ब्यारेकसम्म लगिएको सेनाले जनाएको छ ।
