काठमाडौं । उपत्यकाकै उत्कृष्ट र अनुकरणीय प्रहरी वृत्तका रूपमा ख्याति कमाएको प्रहरी वृत्त बौद्ध स्थानीय समुदायको अथक मेहनत, स्रोत–साधन र सम्पत्तिको जगमा निर्माण भएको थियो ।
यस वृत्तले विगतमा यस क्षेत्रको शान्ति सुरक्षा सुनिश्चित गर्दै प्रहरी–समुदाय सहकार्यको जीवन्त उदाहरण प्रस्तुत गरेको थियो । तर, दुर्भाग्यवश २०८२ भदौ २३ र २४ गते जेनजेड समूहको आन्दोलनको क्रममा अपराधिक समूहले घुसपैठ गरेर यस प्रहरी वृत्तलाई पूर्ण रूपले ध्वस्त बनाउने काम गर्यो ।
स्थानीय समुदायको भनाइअनुसार, प्रहरीको भवनमा आगजनी गर्नेहरूमध्ये त्यसदिन प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको समेत संलग्नता रहेको तथ्यले थप गम्भीर प्रश्न खडा गरेको छ । यस किसिमको नृशंस कार्य केवल प्रहरी संस्थामाथि मात्र नभई सम्पूर्ण स्थानीय समुदायको श्रम र विश्वासमाथि गरिएको अपमान हो ।
त्यसैले, प्रहरी वृत्त बौद्धको भवनमा आगजनी गर्ने प्रत्येक व्यक्तिलाई गहिरो अनुसन्धान गरी कठोर कानूनी कारबाही गर्नु अब राज्यको दायित्व बनेको छ । आज प्रहरी वृत्त बौद्धको नेतृत्वमा रहेका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल निरन्तर चिन्तित छन् ।
उनको कार्यकालमा यस क्षेत्रको शान्ति सुरक्षा अत्यन्त मजबुत भएको तथ्य सर्वविदितै छ । तर भवन ध्वस्त भएपछि प्रहरीहरूले आफ्ना नियमित जिम्मेवारी निर्वाह गर्न गम्भीर कठिनाइ भोगिरहेका छन् । यस पृष्ठभूमिमा डिएसपी रिमाल तत्काल कार्यालय पुनर्निर्माण गर्ने अभियानमा जुटेका छन ।
उनको इच्छाशक्ति, नेतृत्व र दृढ संकल्पको प्रशंसा गर्दै यस अभियानलाई सफल पार्नु स्थानीय समुदायको सामूहिक दायित्व हो । प्रहरी वृत्त बौद्धको भवन केवल प्रहरी प्रशासनको संरचना मात्र होइन, स्थानीय समुदायको रगत–पसिनाबाट जन्मिएको साझा सम्पत्ति हो ।
यसलाई पुनःजिवन्त पार्नु भनेको हाम्रो सुरक्षा र पहिचानलाई पुनःस्थापित गर्नु हो । अतः, हामी सम्पूर्ण स्थानीय समुदायलाई हार्दिक, विनम्र र दृढ अपिल गर्दछौं—प्रहरी वृत्त बौद्धको भवन पुनर्निर्माण अब टार्न नसकिने बाध्यता हो । आर्थिक वा भौतिक सहयोग, श्रम वा विचार जसरी पनि योगदान दिनु हाम्रो सामूहिक कर्तव्य हो ।
बौद्ध क्षेत्रका सबै संघ–संस्था, व्यापारी, शिक्षण प्रतिष्ठान, धार्मिक मठ–मन्दिर, बौद्ध गुम्बा र आम नागरिकहरूले मिलेर प्रहरी वृत्त बौद्धलाई पुनःनिर्माण गर्ने सामूहिक अभियानमा एक ढिक्का बन्नुपर्छ । यसरी मात्रै हामीले अपराधीहरूले दिन खोजेको सन्देशलाई परास्त गर्न सक्छौं र प्रहरी–समुदाय सहकार्यलाई अझ सबल बनाउन सक्छौं ।
आजैदेखि सुरु गरौं- प्रहरी वृत्त बौद्धको पुनर्निर्माण हाम्रो हातमा छ । यही नै प्रहरी, समुदाय र राष्ट्रप्रति हाम्रो सर्वोच्च उत्तरदायित्व हो ।
लेखक : कृष्ण बहादुर तामाङ
