रौतहट । जेनजी आन्दोलनले देशभरि अराजक परिस्थिति सिर्जना गर्दा राजधानी सिंहदरबारदेखि देशका ठूला–ठूला सरकारी धरोहरहरू जले, रौतहटमै पनि दर्जनौं सरकारी तथा प्रहरी कार्यालय आगोले खरानी भए।
सदरमुकाम गौर कारागारबाटसमेत सयौं कैदी फरार भए।
तर जिल्लाको दुर्गम मानिने फतुवा विजयपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय विजयपुर भने इन्स्पेक्टर सुरेन्द्र यादवको सुझबुझ, सक्रियता र रणनीतिपूर्ण प्रहरी परिचालनकै कारण जल्नबाट जोगियो।
बिहानैदेखि तनावपूर्ण वातावरण थियो
गत २४ गते बिहान करिब ९ बजे करिब १५०/२०० जनाको समूहमा जेनजी कार्यकर्ताहरू दुधीअवाबाट नाराजुलुस गर्दै विजयपुर बजार पुगेका थिए। नगरपालिका, बजार चोक र थानाको अगाडि टायर बाल्दै उनीहरूले प्रदर्शन गरे। कार्यक्रम दिउँसो १२ बजे सकियो।
बेलुकी करिब ४ बजे दुधीअवाका विद्यार्थीहरू पुनः विरोध कार्यक्रम गर्न लागेको खबर पाएपछि प्रहरी तयारी अवस्थामा रह्यो। तर, केहीबेरमै सूचना आयो– दुधीअवाका शिक्षक रविन्द्र यादवको नेतृत्वमा करिब २५ जनाको समूह पेट्रोल पम्पबाट पेट्रोल किन्दै नगरपालिका र इप्रकामा आगजनी गर्ने योजना बनाइरहेका छन्। इन्स्पेक्टर यादवले तुरुन्तै प्रहरी खटाएर बोतलरग्यालिनमा इन्धन बिक्री रोकिदिए।
यद्यपि भीडले धम्की दिँदै पेट्रोल लिएर नगरपालिका पुगे। त्यहाँ पहिल्यै २० जना प्रहरी तयारी अवस्थामा थिए। सम्झाइएपछि उनीहरू तत्काल पछि हटे, तर नाराबाजी भने जारी राखे।
पूर्वतर्फ (लक्ष्मीनिया)बाट आएका अर्को समूहले भीडलाई उकास्दै तोडफोड र आगजनी गर्न खोज्दा स्थिति झन् तनावपूर्ण भयो। आन्दोलनकारीहरूले प्रहरीलाई आक्रमण गर्ने र इप्रकामा आगो लगाउने नारा लगाएपछि इन्स्पेक्टर यादवले कैदी र महत्वपूर्ण कागजात जोगाउनुपर्ने भन्दै टोलीसहित इप्रकामा पसे।
इप्रकाको गेट भित्रबाट बन्द गरेर प्रहरी बस्दा आन्दोलनकारीले ढुङ्गामुढा गरे। इन्स्पेक्टर यादवले आधा घण्टा लगातार सम्झाउँदा भीड एकपटक पछि हट्यो। तर त्यस्तै आक्रमण ६–७ पटकसम्म दोहोरियो।
राति उत्कर्षमा पुगेको स्थिति
राति करिब ९ः३० बजे आन्दोलनकारी पुनः फर्किए र माग गरे– ‘नगरपालिकाको गाडी थानाभित्र छ, दिनुपर्छ, हामी जलाउँछौँ।’ इन्स्पेक्टर यादवले भित्र कुनै पालिकाको गाडी नभएको प्रष्ट्याए। उनीहरूको आग्रहमा २र३ जनालाई भित्र पस्न दिँदा पनि गाडी नभएको पुष्टि भयो।
तर बाहिर निस्किएपछि आन्दोलनकारीले फेरि ढुङ्गामुढा गर्दै अर्को माग राखे– ‘नगरपालिकाका सबै गाडीहरू प्रहरीमार्फत ल्याएर दिनुपर्छ, हामी तिनमा आगो लगाउँछौँ।’
त्यसपछि इन्स्पेक्टर यादवले बुझ्ने निष्कर्ष निकाले कि अन्तिममा आएका ती समूहहरू वास्तविक जेनजी कार्यकर्ता होइनन्, तिनको उदेश्य फरक छ। ‘अब चाहे जे होस्, कठोर रुपमा प्रस्तुत हुनैपर्छ,’ भन्ने निष्कर्षमा पुगेका यादवले कडा भाषामा चेतावनी दिए।
उनको दृढता र समयमै गरिएको प्रहरी परिचालनका कारण आन्दोलनकारी अन्ततः पछि हटे र ईप्रका विजयपुर जोगियो।
