रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा हालै भएको आगजनी र लुटपाटको पछाडि निलम्बित लेखा अधिकृत नवीन यादवलाई जोगाउने षड्यन्त्र रहेको खुलेको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोद कुमार खड्काको नेतृत्वमा गरिएको स्थलगत अनुगमनका क्रममा स्थानीय बासिन्दाले घटनाबारे प्रत्यक्ष खुलासा गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा खेपिरहेका निलम्बित लेखा अधिकृत नवीन कुमार यादवलाई बचाउन नेपाली कांग्रेसबाट निर्वाचित वडा ८ का अध्यक्ष नितेश चौधरी, वडा ९ का अध्यक्ष राकेश यादव (पप्पु) र मावि दुधिअवाका शिक्षक रविन्द्र यादव प्रत्यक्ष रूपमा संलग्न रहेको प्रमाण बाहिर आएको छ।
स्थानीयकाअनुसार, उनीहरूले जनतालाई उचालेर नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, शिक्षा शाखा र मेयर बस्ने कोठासम्ममा तोडफोड, आगजनी तथा लुटपाट गरेका थिए ।
योजनाबद्ध चाल
गत २४ गते निलम्बित लेखा अधिकृत यादवले दुई वडाध्यक्ष र आफ्ना समर्थकलाई विद्यालयमै भेला गरी मासु–रक्सी खुवाएर करिब १५ हजार रुपैयाँ खर्च गरेको खुलासा भएको छ। सोहीदिन दुवै वडाध्यक्षसहित उनीहरू ‘जेन जी’ आन्दोलनको आवरणमा सडकमा नारा जुलुस निकाल्दै बेलुकी नगरपालिका कार्यालयमा भीड जम्मा गरेर आगजनी र लुटपाटमा उत्रिएका थिए।
नगरपालिकाका घरधनी शम्भु जैसवालका अनुसार, आफूले आगो निभाउन खोज्दा वडाध्यक्षहरूले धम्कीसमेत दिएका थिए, ‘देश जलिरहेको छ, धेरै कुरा नगर्नुस्, नत्र तपाईंलाई पनि यही आगोमा फालिन्छ।’
त्यस्तै मेयरलाई कोठाभाडामा दिएका रामेश्वर साहकाअनुसार वडाध्यक्षसहितको टोली आफ्नो घरसमेत जलाउने तयारी गरेको थियो । तर आफूले १५ वर्ष विदेश बसेर कमाएको पैसाले घर बनाएको छु, आन्दोलनको नाउँमा जलाउनदिन्न भनी हारगुहार गरेपछि बजारबासी समेतको सम्झाइबुझाइले मात्र रोकिएका थिए।
तर मेरो घरको झ्याल ढोका बिजुली पानीको लाईन सबै तोडफोड गरी मेयर बस्ने कोठामा रहेका दराज, टेबल, सोफालगायत सामग्री लुटपाट भएको उनले बताए ।
भ्रष्टाचार ढाकछोप गर्ने प्रयत्न
फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव र लेखा अधिकृत यादव करिब एक वर्षअघि अख्तियारले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै निलम्बित भएका थिए। त्यतिमात्र नभई केही जनप्रतिनिधिसँग मिलेर उनीहरूले एउटै कामको तीनपटक भुक्तानी दिएको मुद्दा समेत अख्तियारमा दर्ता भएको छ।
जसको बिगो झण्डै अढाई करोड रुपैयाँ रहेको एक नगर कार्यपालिका सदस्यले बताए।
हालका प्रमुख प्रशासकीय अधिकृत भरत यादवले उक्त फाइलहरू अख्तियारमा पठाउन थालेपछि भ्रष्ट अधिकारीहरू प्रमाण नष्ट गर्न आगलागी र तोडफोडमा उत्रिएको स्थानीय कार्यपालिका सदस्यको दाबी छ। निलम्बित लेखा अधिकृत यादव एक बर्षको समय बित्दापनि नगरपालिकासँग हालसम्म बुझबुझारथ नगरेको प्रमुख प्रशासकिय अधिकृत भरत यादवले जानकारी दिए ।
करोडौंको क्षति
आगलागी र तोडफोडले नगरपालिका कार्यालय, स्वास्थ्य शाखा र मेयर बस्ने कोठामा रहेको करोडौं मूल्य बराबरको सम्पत्ति नष्ट भएको छ। फाइल, कागजातदेखि विद्युत् उपकरण र कार्यालय सामग्री जलेका वा लुटिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत यादवकाअनुसार आगजनी तथा लुटपाटबाट ३ करोड ५० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ। क्षती यस भन्दा बढी पनि हुनसक्छ। तर आगजनी र लुटपाटले कार्यालय र शाखाहरुमा कुनै फर्निचर, भौतिक सामग्री, कागजात केही पनि छैन । सोही ठाउँमा तत्काल कार्यालय सञ्चालन गर्ने अवस्था नरहेको अधिकृत यादवले बताए ।
सरकारको निर्देशन अनुसार तत्काल नगरपालिकाको कामकाज सञ्चालन गर्न फतुवास्थित वडा स्वास्थ कार्यालय भवन उपयुक्त देखिएको छ।
अनुगमन टोली
स्थलगत अनुगमनमा सिडिओ खड्का, नेपाल प्रहरीका एसपी नेत्रमणि गिरी, सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी, अनुसन्धानका एसपी कुमार बुढाथोकी, नेपाली सेनाका कर्णेल विश्वास विष्ट, कार्यवाहक मेयर अम्बेया खातुन, दलका नेतागण, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो।
फतुवा विजयपुरको घटना साधारण विरोध प्रदर्शन नभई योजनाबद्ध आपराधिक गतिविधि भएको स्पष्ट देखिन्छ। निर्वाचित वडाध्यक्षहरूले नै भ्रष्टाचार आरोपमा मुछिएका अधिकृतलाई जोगाउन जनतालाई उचाल्नु लोकतान्त्रिक मूल्य र जनप्रतिनिधिमाथिको विश्वासमाथिको गम्भीर प्रहार हो।
यस्तो कार्यले दुई ठूला प्रश्न खडा गरेको छ- एक स्थानीय निकायको विश्वसनीयताः जब निर्वाचित जनप्रतिनिधि नै भ्रष्ट अधिकृतलाई जोगाउन हिंसामा उत्रिन्छन्, त्यसले जनतामाझ स्थानीय सरकारको छवि ध्वस्त हुन्छ।
दोस्रो जनआन्दोलनको अपहरणस् “जेन जी आन्दोलन” नाममा गरिएको यो गतिविधिले वास्तविक आन्दोलनलाई नै दूषित बनाउने खतरा बढाएको छ।
विश्लेषकहरूको भनाइमा, घटनाको निष्पक्ष छानबिन र संलग्न सबैमाथि कठोर कानूनी कारबाही अनिवार्य छ। अन्यथा, यसले आन्दोलनको नैतिकता मात्र होइन, लोकतान्त्रिक संस्थामाथि जनताको भरोसा पनि गुम्नेछ।
अनुगमन टोलीका नेतृत्वकर्ता सिडिओ खड्काका अनुसार सार्वजनिक सम्पतिको तोडफोड, लुटपाट, आगजनी गर्ने जो सुकै भएपनी उनीहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन्। २०७९ सालमा फतुवा विजयपुर नगरपालिकामा भएको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको टिकटबाट मेयर, उपमेयरसहित ११ मध्ये ७ जना वडाध्यक्ष निर्वाचित भएका थिए ।
