काठमाडौं । जेनजी आन्दोलनका क्रममा उपत्यकाका दर्जनौं प्रहरी वृत्त, प्रभाग र बिट तोडफोड तथा आगजनी गरियो । तर, थापाथलीस्थित सुकुम्बासी बस्तीका बासिन्दाले अनुकरणीय उदाहरण काम प्रस्तुत गरेर थापाथली प्रहरी बिट जोगाउल सफल भएका छन् ।
सिंहदरबार प्रहरी वृत्त मातहतको थापाथली प्रहरी बिटलाई अराजक तत्वहरूको आक्रमणबाट बचाउँदै स्थानीयले प्रहरीका सरसामान, भाँडावर्तनदेखि लत्ताकपडा समेत सुरक्षित राखेका थिए । आन्दोलनकै बीचमा संरचना जोगाउन विशेष पहल गरेका बासिन्दाले आज औपचारिक रूपमा बिटको सरसामानसहित बिटको चाबी बिटका प्रहरी प्रमुखलाई फिर्ता गरेका छन् ।
थापाथली सुकुम्बासी बस्तीका अगुवाहरू अध्यक्ष मीनकुमार मगर, सचिव गोपाल पौडेल, सल्लाहकार दल मर्दन कामी, सुमन चौधरी, गणेश राइगाई, बेन्जामुन सुब्बा, आकाश बुढाथोकी, गोपाल माझी र पदम लामा लगायतको नेतृत्वमा आयोजित कार्यक्रममा बासिन्दाले प्रहरीलाई स्वागत गर्दै खादा अर्पण समेत गरेका थिए ।
यस अवसरमा सिंहदरबार प्रहरी वृत्तका प्रमुख डिएसपी जनार्दन घिमिरेसँग समन्वय गरेर स्थानीयले प्रहरी बिट थापाथलीका प्रमुख हवल्दार बलबहादुर सुनारसहित पाँच जना प्रहरीलाई स्वागत सम्मान गरेका छन् ।
कार्यक्रममा बोल्दै दल मर्दन कामीले भने,‘देशका करिब ५० प्रतिशत प्रहरी वृत्त र बिट आन्दोलनमा क्षति पुगेको अवस्थामा थापाथली सुकुम्बासीले देखाएको उदाहरणले सम्पूर्ण देशलाई व्यक्तिले गरेको गल्तीमा राज्य वा समुदायको सम्पत्तिको ध्वस्त गर्नु मुर्खता हो यसलाई राज्य र समाजको सम्पत्ति जोगाउने जिम्मेवारी आम नागरिक हो संरक्षण गर्नुपर्ने सन्देश दिएको छ यसकार्यले जनताले चाहे भने राज्यको सम्पत्ति र संरचना जोगाउन सक्छन् ।’
त्यसैगरी, हवल्दार बलबहादुर सुनारले भावुक हुँदै बस्तीका सम्पूर्ण बासिन्दा र अगुवाहरूप्रति आभार प्रकट गर्दै भने, ‘तपाईँहरूको सहयोगले प्रहरी मात्र होइन, राज्यको सिङ्गो संरचनालाई नै बल मिलेको छ ।’
यो घटनाले आन्दोलनको कठिन परिस्थितिमा पनि जनताको सचेत सहभागिता र जिम्मेवार आचरणबाट राष्ट्रिय सम्पत्ति तथा सुरक्षात्मक संरचना जोगाउन सकिने उदाहरण प्रस्तुत गरेको छ ।
