काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गतेको आन्दोलनका क्रममा आफ्ना कार्यालयहरूबाट चोरी भएका सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको छ ।
एक सार्वजनिक सूचना जारी गर्दै आयोगले तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूबाट सवारी साधन, टिभी, कम्प्युटर, हार्ड डिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर लगायतका विभिन्न जिन्सी सामानहरू हराएको वा चोरी भएको जनाएको हो ।
सिसिटिभी फुटेजको आधारमा तोडफोड र चोरीमा संलग्नहरूको पहिचान गर्ने कार्य भइरहेको आयोगले जनाएको छ । आयोगले कसैले पनि यी सामग्रीहरू लिएको वा प्राप्त गरेको भए काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ वा आयोगको टङ्गालस्थित कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।
अन्य कार्यालयहरूको हकमा भने ती सामानहरू नजिकको प्रहरी कार्यालय वा सम्बन्धित आयोगको कार्यालयमा बुझाउन भनिएको छ। यदि सामान फिर्ता नगरे कानुनअनुसार कारबाही हुने चेतावनी पनि आयोगले दिएको छ।
