काठमाडौं । पूर्व प्रधानसेनापति रुक्माङत कटवालले नेपाली सेनाप्रति आफ्नो गहिरो सम्मान प्रकट गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले हालको चुनौतीपूर्ण अवस्थामासमेत नेपाली सेनाले देखाएको प्रतिबद्धता र राष्ट्रप्रति निर्वाह गरेको जिम्मेवारीलाई प्रशंसा गरेका हुन् ।
‘नेपाल सानो देश भए पनि यति ठूलो समस्या सामना गर्नुपरेको छ । तर, हाम्रो देशप्रती सेनाले देखाएको हिम्मत विश्व समुदायकै लागि एउटा नमुना बनेको छ,’ कटवालले लेखेका छन् ।
उनका अनुसार नेपाली सेनाले मुलुकलाई संकटको घडीमा थामेर राख्न खेलेको भूमिका अविस्मरणीय छ । उनले भने, ‘मेरो आँखाले देखेको छ – नेपाली सेनाले आफ्नो राष्ट्रप्रति दायित्व पूरा गरेको छ । देशसँगै चर्किएको आम नेपालीको मनलाई थामेर राख्न सेनाले जुन योगदान दिएको छ, त्यो बिर्सन सकिन्न ।’
पूर्व सेनाप्रमुख कटवालले नेपाली सेनाका जवानलाई ‘पुत्र समान’ मानेर सलाम अर्पण गरेका छन् । उनले भने, “हृदयदेखि नै मेरा छोरा समान रहेका जवानहरु र कहिल्यै नझुक्ने नेपालीलाई मेरो सलाम छ ।’
उनले अन्त्यमा जोड्दै भनेका छन् – ‘देशलाई चिनेका र बुझेका अभिभावककै हातमा मुलुक रहोस् ।’
