काठमाडौं । राजनीतिक अस्थिरता र तरल परिस्थिति बीच अन्तरिम सरकारको सम्भावित नेतृत्वका रुपमा पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालको नाम समेत जेएनजी आन्दोलनमा जोडिएर आएको छ ।
खनालले नेपाल प्रहरीको महानिरीक्षक रहँदै सुरक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । २०६२/६३ को जनआन्दोलनका क्रममा उपत्यकाको कमान्ड सम्हालेका खनालसँग आन्दोलनलाई सहि तरिकाले अवतरण गराउन सफल भएको अनुभव समेत छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा समेत खनालको अनुभव विशिष्ट छ । उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तीन वर्ष सेवा गरेका थिए भने इण्टरपोलबाट समेत पुरस्कृत भएका थिए ।
पछिल्लो समय उनी नेपालमा सुशासन र भ्रष्टाचार उन्मूलनको पक्षमा खुलेर बोल्दै आएका छन् । यही कारणले जेएनजी आन्दोलनसँग ऐक्यबद्धता जनाउँदै सक्रिय अभियन्ताका रुपमा प्रस्तुत भइरहेका खनाललाई युवामाझ “सबै पक्षलाई ट्याकल गर्न सक्ने नेतृत्व” भनेर चिनाउन थालिएको छ ।
यही सन्दर्भमा अन्तरिम सरकार गठनको सम्भावित नामावलीमा खनाललाई अगाडि सारिएको हो ।
