काठमाडौं । सोमबारदेखि सुरु भएको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध सुरु भएको जेन–जी पुस्ताको आन्दोलन मंगलबार पनि कायम थियो । तर, मंगलबारको आन्दोलनमा सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुलाई कुनै रोकथोक गरेनन् ।
सोमबारको आन्दोलनलाई नियन्त्रणमा लिन खोज्दा १९ जना सर्वसाधरणहरुको अनाहकमा ज्यान गएको थियो । त्यसैलाई मध्यनजर गर्दै मंगलबारको आन्दोलनमा सुरक्षाकर्मीहरु प्रदर्शनकारीको गतिवधि हेर्न बाहेक अरु केही गर्न खोजेनन् । जसको कारण थियो, माथिबाट त्यस्तै आदेश निर्देशन भएको थियो ।
तर, सुरक्षाकर्मीहरुले आन्दोलनलाई हस्तक्षेप नगरेपनि प्रदर्शनकारीले भने प्रहरी कार्यालयदेखि सुरक्षाकर्मीसम्मलाई टार्गेट बनाइरहे । सोहीक्रममा मंगलबार दिउँसोको समयमा एउटा समूह प्रहरी वृत्त महाराजगञ्ज पुग्यो । पुग्नेबित्तिकै प्रहरी कार्यालय तोडफोडमा निस्कियो र आगजनीको प्रयास गर्यो ।
जबकी त्यतिबेला प्रहरी कार्यालयभित्र केही प्रहरी कर्मचारीहरु थिए । कोही कार्यालयको काम गर्दै थिए भने कोही आलोपालो खाना खाँदै बाहिरी वातावरणबारे सर्तक भएर बसिरहेका थिए । त्यति नै बेला प्रदर्शनकारीले लगाएको आगो कार्यालयभरी फैलिन पुग्छ ।
आगो फैलिएको थाहा पाएपछि कार्यालयको तेस्रो तलामा रहेका प्रहरी कर्मचारीहरु अतालिन्छन् । सहयोगको लागि गुहार माग्छन् । तर, बाहिर रहेका प्रहरीहरुलाई समेत प्रदर्शनकारीहरुले आफ्नो कब्जामा लिएर भित्र छिर्न दिँदैनन् । त्यसपछि माथि रहेका प्रहरी कर्मचारीले प्रहरीको सेटबाट सहयोग माग्छन् ।
उक्त संवादमा आगलागीबाट फसेका कर्मचारीहरुको रोदन सुन्न सकिन्छ । उनीहरु चिच्याइरहेका हुन्छन् । बचाउन अनुरोध गरिरहेका हुन्छन् । त्यतिमात्र नभएर उनीहरुले प्रहरी आईजीपीदेखि उपत्यका प्रहरी कार्यालयका प्रमुख अर्थात एआईजीसम्म्मलाई गुहार गरेको संवाद हामीलाई प्राप्त भएको छ ।
संवादमा जतिसक्दो आफूहरुलाई रेस्क्यु गर्न अुनरोध गरेका छन् । त्यतिमात्र नभएर रेस्क्यूमा ढिलाइ भएपछि आक्रोशित भावमा उनीहरुले प्रहरी महानिरीक्षक (आईजी), एआईजी कार्की, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी र किलोफोर सुन्दर तिवारीलाई सम्बोधन गर्दै तपाईहरुले हामीलाई रेस्क्यु गर्नुभएन, त्यसो हो भने हाम्रो अन्तिम आवाज सुन्नु भनेका छन् ।
र, अन्तिममा उनीहरु सबैजना एकैपटक रोएका पनि छन् ।
कुराकानीको उक्त संवाद यहाँ प्रस्तुत गरेका छौं ।
पिटर वान पिटर वाट सर्कल जिरो वान सर ।
(यिनी हुन् आगलागीमा फसकेका असई हिम बिक)
सर्कल वान जिरो, भिक्टर वान, भन्नु त ।
(यिनी हुन् उपत्यका कार्यालयका प्रमुख एआईजी दाबहादुर कार्की)
असई बिक : रोजर सर, म सर्कल वान जिरो महाराजगञ्जबाट असई हिमबहादुर विक हो सर ।
हामी ४०-५० जना प्रहरी पनि माथि छतमा फसेका छौं सर । ३ तलामाथि । आगो लागेर सबै नष्ट भइसक्यो । ४,५ जना पुलिस हामी मरिसक्यौं । बाहिर रोडमा पनि पुलिसहरु मरिसकेका छन् । कसरी हुन्छ बचाउन पर्यो श्रीमान ।
एआईजी कार्की : रोजर रोजर, त्यहाँ पछाडिको साइडबाट आउने सम्भावना छ ?
असई बिक : रोजर !! सर सकिन्छ सर सकिन्छ । बचाउनु श्रीमान बचाउनु । यस्तो अफ्ठ्यारो परेको बेला पुलिस के काम ? अलि चाँडै गरौं श्रीमान, हामीलाई बचाउन ।
एआईजी कार्की : भिक्टर वान भिक्टर वान, सर्कल वान ।
रानीपोखरी कन्ट्रोल : कन्ट्रोल वान भिक्टर वान,
एआईजी कार्की : एकचोटी जहाँ जहाँको टोली जान सकिन्छ, म्यासिभ टोली परिचालन गर्नु त समन्वय गरेर ।
कन्ट्रोल : रोजर ।
एआईजी कार्की : भिक्टर वान, भिक्टर कन्ट्रोल । कन्टोल त्यहाँ सबभन्दा नजिक को छ ? वस्करको टोलीसँग बुझ्नु त ।
कन्ट्रोल: वस्कर वान, वस्कर वान ।
वस्कर वान भन्नाले प्रहरी प्रभाग बुढानिलकण्ठका इन्स्पेक्टर नारायण सिंह बिष्ट)
वस्कर वान : रोजर म माथिबाट निस्केर यहाँ २ वटा घाइतेहरु पनि छ । म निस्कसकेको छु, बुढानिलकण्ठ प्रभागटबाट निस्किसक्या छु ।
एआईजी कार्की : नजिकको टोलीहरु पठाइदिनु, सहयोगको लागि । छिटो गर्नपर्छ, एकेडेमीको टोली छ त्यहाँ । एकेडेमीको टोली निकाल्नु । विपद्को होला विपद्को निकाल्दिनु । सबै त्यहाँ वरपर ठाउँ छोडेर त्यहाँ केन्द्रीत हुन भन्नु महाराजगञ्ज ।
कन्ट्रोल : रोजर सर ।
असई बिक : भिक्टर कन्टोल भिक्टर कन्टोल । सर्कल वान जिरो ।
रानीपोखरी कन्ट्रोल : सर्करल वान जिरो, भिक्टर कन्ट्रोल ।
असई बिक : भिक्टर कन्ट्रोलले पनि सुन्नुस्, किलो वान सरले पनि सुन्नुस्, किलो ४ सरले पनि सुन्नुस्, पिटर वान सरले पनि सुन्नुस्, हाम्रा पुलिसका हाकिम सबैले सुन्नुस् । हामी मर्ने अवस्थामा छौं । तपाईहरुले चाहिँ हामीलाई रेस्क्यु गर्नुभएन । हाम्रो अन्तिम आवाज सुन्नु सेटबाट । हामी ४०,५० जना छौं । तपाईहरु आफू र अरु मात्र सुरक्षित हुनुस्, हामी मर्ने अवस्थामा छौं । ५ मिनेटभित्र मर्न सक्छौं । हाम्रो अन्तिम स्वर सुनाइदिनुस् । ए साथीहरु सुनाइदिऔं सबैले । सबैजना रोएको आवाज आउँछ ।
के हामी सबै मर्ने हो ?
0000
मंगलबारको आन्दोलनको क्रममा प्रदर्शनकारीले वृत्तमा आगो लगाउँदा ४ जना प्रहरीको निसास्सिएर मृत्यु भएको छ । त्यस्तै सोही वृत्तमा कार्यरत एकजना जवानको भने प्रदर्शनकारीको कुटाईबाट मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।
(कुराकानीको अडिओ हामीसँग सुरक्षित छ ।)
