काठमाडौं । देशभर अराजक गतिविधि नियन्त्रणका लागि कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरू परिचालन भएपछि राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा ठूलो मात्रामा हतियार र नगद बरामद हुनुका साथै २७ जना पक्राउ परेका छन्।
सुरक्षा निकायका अनुसार २०८२ भदौ २४ गते राति १० बजेदेखि भदौ २५ गते बिहान १० बजेसम्म सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत लुटपाट, आगजनी र जनधनको क्षति गर्ने उद्देश्यले विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
सुरक्षा स्रोतका अनुसार, काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न समूहबाट ३३ लाख ७० हजार नगद बरामद गरिएको छ। साथै राजधानीका विभिन्न स्थानमा भएको आगजनी नियन्त्रणका लागि ३ वटा बारुण यन्त्र प्रयोग गरिएको बताइएको छ।
यसैगरी, काठमाडौंका विभिन्न स्थान र पोखराबाट ३१ नाल विभिन्न प्रकारका हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद गरिएको छ।
त्यस्तै २३ जना प्रहरी र ३ जना गैरसैनिक व्यक्तिहरू घाइते भएका छन्। उनीहरूको सेनाका अस्पतालहरूमा उपचार भइरहेको छ।
सुरक्षा निकायहरूले राजधानी उपत्यकासहित संवेदनशील स्थानहरूमा पैदल गस्ती, मोबाइल पेट्रोलिङ र निगरानी कडाइ गरिएको जनाएको छ। प्रहरीले नागरिकलाई अफवाहमा नपर्न र अराजक गतिविधिबाट सचेत रहन अपिल समेत गरेको छ।
