काठमाडौं । जेएनजीले सुरु गरेको आन्दोलनको दोस्रो दिनमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) मिलन राईसहित ८ प्रहरीको ज्यान गएको छ। राजधानीमा भएको यस घटनाले मुलुकभर सुरक्षा चुनौती थपिएको छ।
स्रोतका अनुसार महाराजगञ्ज वृत्तमा कार्यरत ५ जना र कोटेश्वर प्रभागमा खटिएका ३ सुरक्षाकर्मीको ज्यान गएको हो। प्रदर्शनकारीहरुको कुटपिट र आगलागीबाट उनीहरुको मृत्यु भएको बताइएको छ ।
आन्दोलनमा परी निधन हुनेहरुमा एकजना असईबाहेक बाँकी सबैजना जवान-हवल्दार रहेको पाइएको छ ।
उता आन्दोलनकारी पक्षले भने सुरक्षाकर्मीहरूले अत्यधिक बल प्रयोग गरेर आम नागरिकलाई आक्रान्त बनाएको आरोप लगाएको छ।
घटनापछि काठमाडौं उपत्यका र अन्य संवेदनशील क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ। सडकहरूमा व्यापक संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बल परिचालन गरिएको छ भने भिडभाड निषेधाज्ञा पनि लागू गरिएको छ।
राजनीतिक विश्लेषकहरूले आन्दोलनको स्वरूप र हिंसात्मक घटनाले मुलुकको स्थायित्व र राजनीतिक वार्ता प्रक्रियामा थप चुनौती ल्याउने चेतावनी दिएका छन्।
