काठमाडौं । फ्रान्समा प्रधानमन्त्री फ्रान्स्वा बायरूको सरकार ढलेको छ । सोमबार सांसदहरूले विश्वासको मतमा बायरूलाई ३६४–१९४ को भारी मतान्तरले सत्ताबाट हटाएका हुन् ।
यो युरोपको दोस्रो ठूलो अर्थतन्त्रका लागि नयाँ संकट भएको बताइएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई १२ महिनाभित्र चौथो प्रधानमन्त्रीको खोजी गर्नुपर्ने भएको छ । बायरू नौ महिनासम्म पदमा रहेका थिए ।
फ्रान्सको ऋण तिर्न सार्वजनिक खर्चमा कटौती गर्ने आफ्नो योजनाको समर्थन गर्ने अपेक्षा गरेका फ्रान्स्वा बायरू सोही प्रस्तावका कारण पद गुमाएका हुन् ।
बायरूको अल्पकालीन सरकारको पतनले फ्रान्सका लागि नयाँ अनिश्चितता र लामो गतिरोधको जोखिमको संकेत गरेको छ ।
अहिले फ्रान्स बजेटको कठिनाइ तथा युक्रेन र गाजामा युद्ध तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बदलिँदो प्राथमिकतासहित अन्तर्राष्ट्रिय दबाबसँग जुधिरहेको छ । अलजजिरा
