काठमाडौं । मानव बेचबिखन तथा ओसारपोसारविरुद्धको राष्ट्रिय दिवस (भदौ २०) को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र सम्मानित भएका छन्।
नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ७७ जिल्लामध्ये पर्सा प्रहरीले मानव बेचबिखन नियन्त्रणमा देखाएको सक्रियताका आधारमा मिश्रलाई सम्मान गरेको हो। उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्मानपत्र हस्तान्तरण गरेका थिए।
एसपी मिश्र करिब सात महिनाअघि पर्सा प्रहरी प्रमुख बनेपछि मानव बेचबिखनविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएका छन्। उनले यो अवधिमा १५ वटा मुद्दा दर्ता गरेर त्यसमा संलग्न १७ जनालाई पक्राउ गरी सफल अनुसनधान गरेका थिए ।
यस्तै बेचबिखनको जोखिममा परेका करिब ३०० भन्दा बढीको उद्दार गर्नुका साथै एसपी मिश्रले आफ्नो कार्यकालमा पर्सामा करिब ३५० सचेतना कार्यक्रम सञ्चालन गरेका थिए। यही मूल्याकंनलाई आधार मानेर पर्सा प्रहरीलाई सम्मान गरिएको हो ।
मानव बेचबिखनलाई गम्भीर अपराधका रूपमा चिनाउँदै उनी मधेस प्रदेशभरकै २०८१/८२ कार्यसम्पादन मूल्यांकनमा समेत प्रथम भएका थिए ।
यस्तै कार्यक्रममा विभिन्न विधामा अतुलनिय योगदान पुर्याएका व्यक्ति, संघसंस्गाहरुलाई समेत सम्मान गरिएको थियो ।
