काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा शुक्रबार बिहान भएको खुकुरी प्रहार घटनामा संलग्न पाँच जना पक्राउ परेका छन्।
फुटबल खेलको क्रममा भएको विवादपछि बसन्त परियार नेतृत्वको समूहले धारिलो हतियार प्रयोग गरी आयुष बिक (१८) र प्रवेश योगी ‘विपिन’ (१८) लाई आक्रमण गरेका थिए। घाइते दुवैको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँच जना क्रमशः नविन राना (१९), बसन्त परियार (१८), राजेश परियार (१८), नविन सुनार (१८) र जीवन बिक (१८) रहेका छन्। उनीहरूलाई तुलसीपुर–४ रक्षाचौरस्थित जंगलबाट पक्राउ गरिएको तुलसीपुरका डिएसपी अनिल ठकुरीले बताए ।
डिएसपी ठकुरीले भने, ‘घटनालगत्तै फरार भएका उनीहरुलाई ५ घण्टाभित्रै पक्राउ गरेर कानुनी दायरमा ल्याउन सफल भएका हौं ।’
पक्राउसँगै प्रहरीले १ फिट लामो खुकुरी, ८.४ इन्चको खुकुरीको दाब र फुटेको हेल्मेट समेत बरामद गरेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
