एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न युरोपेली देशहरूले रूसी तेल किन्न तुरुन्त बन्द गर्नुपर्ने बताएका छन् । साथै, उनले चीनमाथि पनि आर्थिक दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग भएको बैठकमा ट्रम्पले यस्तो धारणा राखेका हुन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने फोनवार्तापछि युद्धविराम सम्झौता अन्तिम रूप पाएमा २६ देशले सम्भावित शान्ति सेनामा योगदान गर्ने वाचा गरेको जानकारी दिएका छन् ।
म्याक्रोनका अनुसार युक्रेनको सुरक्षाका लागि युरोपेली सेनाको तैनाथी र युक्रेनी सेनाको सुदृढीकरणसँगै अमेरिकी सुरक्षाजाल अनिवार्य रहनेछ । यसले युद्धपछिको सुरक्षा ग्यारेन्टीलाई बलियो बनाउने उनले स्पष्ट पारे ।
सीएनएनको विश्लेषणअनुसार पछिल्ला घटनाक्रमहरूले युक्रेन द्वन्द्व समाधानमा ट्रम्पमाथि बढ्दो दबाब देखाएको छ ।
