काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त र अवरोधमुक्त छिमेकी अभियानका लागि विभिन्न उपाय अवलम्बन गर्न अनुरोध गरेको छ । विभिन्न मानवीय क्रियाकलापले ध्वनि प्रदूषण कम गर्न भन्दै विभिन्न उपाय अपनाउन अनुरोध गरेको हो ।
ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनि प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर परेको प्रहरी कार्यालयले जनाएको छ ।
राति अनावश्यक आवाज ननिकाल्न फोन गर्दा आवाज कम गर्ने र हेडफोन प्रयोग गर्न प्रहरीको सुझाव छ । प्रहरीको अनुरोधमा भनिएको छ, ‘फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, म्यासेजमै संवाद गरौँ ।’
त्यस्तै प्रहरीको अर्को अनुरोध छ, ‘भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगरौँ । राति गेट ढकढकाउने वा बेल बजाउने कार्य नगरौँ, आवश्यकताअनुसार फोनको प्रयोग गरेर ढोका खोल्न लगाऔँ ।’

