काठमाडौं । निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आइजी) दीपक थापाले नवनियुक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ साहसी, निष्ठावान र क्षमतावान व्यक्तित्व भएको बताएका छन् ।
बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विदाइ विशेष समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक थापाले नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन् ।
उनले खापुङ अत्यन्तै साहसी, निष्ठावान र क्षमतावान व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले सङ्गठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरेका छन् । त्यसका लागि सबै प्रहरी कर्मचारीहरूले उनलाई रचनात्मक सहयोग गर्नुपर्नेमा थापाले जोड दिए ।
‘सङ्गठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास मैले गरेको छु,’ महानिरीक्षक थापाले भने ।
साथै उनले सो अवसरका आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरूप्रति आभार समेत प्रकट गरे भने आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी सङ्गठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटेर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई हस्तान्तरण गरे ।
सो अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापालगायत वरिष्ठ प्रहरी अधिकृतहरू प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदिप गिरी र टेकबहादुर तामाङलाई कृतज्ञताको चिनो प्रदान गरे ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए ।
