काठमाडौं । गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई शुभकामना सहित बिदाइ गरेका छन् ।
गृहमन्त्री लेखकले बुधवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा आईजीपी थापालाई शुभकामनासहित बिदाइ गरेका हुन् ।
गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापालाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे ।
सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक थापाले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको सेवाको लागि थप महत्त्वपूर्ण योगदान गर्नेछन् भन्दै शुभकामना समेत दिए ।
सो अवसरमा थापाले नेपाल प्रहरी जस्तो गौरवशाली तथा नागरिकको अत्यन्तै नजिक रहेको र देशको आन्तरिक सुरक्षाको मेरुदण्डको रूपमा रहेको सुरक्षा निकायको सदस्य भई देश र नागरिकको सेवा एवम् सुरक्षामा आफूलाई समर्पित गर्ने अवसर प्राप्त हुनु सौभाग्य र गौरवको विषय भएको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुत राज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।
