काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुकलगायतका सामाजिक सञ्चाल बन्द गर्ने सूचनाबमोजिम नै अघि बढ्ने बताएका छन् ।
बुधबार कुरा गर्दै मन्त्री गुरुङले सूचीकरण हुन आउने समयसीमा भोलि सकिने हुँदा आजसम्म कोही पनि अधिकारीहरू सम्पर्कमा नआएको बुझिएको बताए । ‘अहिलेसम्म कोही आयो कि मैले थप बुझ्नुपर्छ । नआए त उही सूचनामा लेखेबमोजिम हुने हो,’ उनले चने ।
९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले पहिलोपटक ठूला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालको कानुनअनुसार दर्ता हुन आग्रह गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयबमोजिम सञ्चार मन्त्रालयले एक हप्ताको समयसीमा दिएर १२ भदौमा सूचना जारी गर्दै नेपालमा चल्ने सबै सामाजिक सञ्चाल अनिवार्य दर्ता हुनुपर्ने र नेपालमा आवासीय प्रतिनिधि राख्नुपर्ने भनेको थियो । तर, ६ दिन बितिसक्दा पनि सूचनामा भनिएका कुनै पनि सामाजिक सञ्चाल दर्ताका लागि सम्पर्कमा आएका छैनन् ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरमा अनुसार सबै सामाजिक सञ्चालको रोस्टर बनाइसकिएको हुँदा अब नियामक निकाय दुरुसञ्चार प्राधिकरणलाई बन्द गर्न मन्त्रालयले पत्र लेख्नेछ ।
