एजेन्सी । भारतको बिहारको पूर्णियामा अन्धविश्वासकै कारण एकै परिवारका पाँच जना सदस्यलाई गाउँलेहरूले जिउँदै आगोमा जलाएका छन् । घटनाले राज्यको कानून-व्यवस्था मात्र होइन, शिक्षा–व्यवस्थाको स्तरलाई पनि गम्भीर प्रश्नमा उभ्याइदिएको छ ।
भारत अन्तरिक्ष यात्रामा नयाँ उपलब्धि हासिल गर्दै विश्वसँग प्रतिस्पर्धा गरिरहेको बेला पूर्णियाको यो घटना समाजका केही हिस्सा अझै गहिरो अन्धविश्वास र अशिक्षाको दलदलमा फँसेको प्रमाण हो ।
मृतक परिवारकी एक महिला झाडफुक गर्ने काम गर्थिन् । केही दिनअघि गाउँकै एक बालकको मृत्यु सामान्य रोगका कारण भए पनि अन्धविश्वासी र अशिक्षित गाउँलेहरूले त्यसलाई ‘तान्त्रिक क्रिया’सँग जोड्दै महिलामाथि शंका गरे । यसअघि पनि केही मानिसको मृत्यु भएकाले गाउँलेहरूले झाडफुक गर्ने महिलालाई दोषी ठहराउँदै उनलाई ‘डायन’ घोषणा गरे ।
पंचायतमा मुद्दा उठाइएपछि भीडले नृशंस ढंगले आक्रोश पोख्दै परिवारका पाँच सदस्यलाई गाउँकै बीचमा जिउँदै आगोमा जलाइदियो ।
पूर्णिया जिल्ला राज्यकै अति पिछडिएको क्षेत्रमा पर्छ । घटना भएको टेटगामा गाउँ आदिवासी बस्ती हो । अझै पनि यहाँका मानिस झाडफुक, टोना–टोटका जस्ता प्रथामा विश्वास राख्छन्, जसको जरो अशिक्षा र पिछडिएको अवस्था हो ।
केन्द्र सरकारले सार्वजनिक गरेको शिक्षा प्रतिवेदनअनुसार आधुनिक शिक्षा त टाढाको कुरा भयो, आधारभूत शैक्षिक सुविधामा समेत बिहार देशकै सबैभन्दा पछाडि छ ।
यो घटना कानून-व्यवस्था, समाजिक चेतना र शिक्षा सुधार तीनै पक्षका लागि ठूलो चुनौतीको संकेत हो ।
