काठमाडौं । बिहारको मुजफ्फरपुर जिल्लास्थित सकरा प्रहरी क्षेत्रअन्तर्गत गन्निपुर बेजा गाउँमा मङ्गलवार बिहान ४ वर्षीया बालिकाको शव फेला परेको छ। शव फेला परेपछि गाउँमा सनसनी फैलिएको छ।
मृतक बालिकाको परिचय मिंटु रायकी छोरी चन्दासी कुमारी (४) को रुपमा खुलेको छ। उनी सोमबार दिउँसोदेखि हराएकी थिइन्।
गाउँको बाँसवारीमा फेला परेको बालिकाको शरीरमा कुटपिटका थुप्रै दाग भेटिएका छन्। उनको ओठ कालो भएको र अनुहारसहित शरीरमा चोटपटकका गहिरा दागहरू देखिएका छन्।
घटनास्थलमा सूचना पाएसँगै सकरा प्रहरी प्रमुख राजु कुमार पाल र अनुमण्डल प्रहरी पदाधिकारी (सकरा–२) मनोज कुमार सिंहसहितको टोली पुगेर घटनाको अनुसन्धान थालेको छ। प्रहरीले बालिकाका अभिभावकसँग सोधपुछ गर्नुका साथै शव भेटिएको बाँसवारी पनि निरीक्षण गरेको छ।
अनुमण्डल प्रहरी पदाधिकारी मनोज कुमार सिंहका अनुसार बालिकाको हत्या गरी शव फ्याँकिएको देखिन्छ। घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।
गाउँमै शव भेटिएपछि ठूलो संख्यामा स्थानीयवासी घटनास्थलमा जम्मा भएका थिए। यस घटनापछि स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ।
