काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकको भतिज नाता लगाउँदै आएका सन्तोष भट्ट विवादमा तानिएका छन् । प्रहरी अधिकृत नै नभईकन उनले प्रहरी नायब उपरीक्षक (डिएसपी)को बर्दी लगाएको फोटो फेसबुकमा राखेपछि विवादमा तानिएका हुन् ।
बुढानिलकण्ठ प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण सिंह बिष्टसँग खिचेको तस्बिर भट्टले फेसबुकमा सार्वजनिक गरेपछि घटनाले प्रहरी संगठनमाथि नै गम्भीर प्रश्न उठाएको छ । उक्त फोटो जबकी इन्स्पेक्टर बिष्टकै कार्यकक्षमा लिइएको हो ।
विवादास्पद छविसहितका भट्ट पछिल्लो समय प्रहरीका हाकिम, मन्त्री तथा उच्चपदस्थहरूसँग भेटघाट गर्ने, तस्बिर खिच्ने र ती तस्वीरहरू सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गर्दै आएका छन् ।
यस घटनामा इन्स्पेक्टर बिष्टमाथि समेत प्रश्न उठेको छ । प्रहरी अधिकारी नै नभएको व्यक्तिलाई डिएसपीको बर्दीमा नजिकबाट तस्बिर खिच्न दिनु सामान्य विषय नभएको भन्दै प्रहरी वृत्तमै शंका उठेको हो ।
तर बिस्टले भने, ‘लागू औषध नियन्त्रण सम्बन्धी सुटिङको क्रममा भट्टले बर्दी लगाएर तस्बिर खिचेका हुन् । सामाजिक सञ्जालमा हालेको हो भने तुरुन्तै हटाउन लगाइहाल्छु,’ प्रतिक्रिया दिए ।
प्रहरी मुख्यालयले आफ्ना अधिकृतहरूलाई समेत बर्दीमा खिचिएका फोटो सामाजिक सञ्जालमा सकेसम्म नराख्न निर्देशित गरेको छ । यस्तो अवस्थामा प्रहरी नै नभएका भट्टले खुलेआम बर्दीमा फोटो राख्नुको उद्देश्य के हो भन्ने प्रश्नले आम नागरिक र सुरक्षा वृत्तबीच चासो र आलोचना बढाएको छ ।
यस प्रकरणले केवल भट्टको विवादित छवि मात्रै उजागर गरेको छैन, प्रहरी संगठनको अनुशासन, निगरानी र राजनीतिक पहुँचबीचको संवेदनशील सम्बन्धसमेत उजागर गरेको छ ।

