गाेरखा । “पढ्न चाहना छ, तर साधन छैन” भन्ने यथार्थ बोकेर विद्यालय आउने गोरखाका १६० विपन्न बालबालिकाको अनुहारमा शनिबार हर्षको मुस्कान देखियो।
समाजसेवी तथा हिमालय हब एडभेन्चर प्रा. लि.का प्रबन्ध निर्देशक प्रकाश लामिछानेले भिमसेनथापा गाउँपालिका–३ टारिफाँटस्थित श्री श्री नवज्योति माध्यामिक विद्यालय र भिमसेन–४ चौतारास्थित बाल ज्योति विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरे।
कार्यक्रममार्फत कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालय झोला, कापी, पेन, ज्यामिती बक्स तथा पोशाक हस्तान्तरण गरिएको हो।
वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार पुडासैनी र विद्यालयका प्रधानाध्यापकको प्रमुख आतिथ्य थियो। साथै शिक्षक, अभिभावक, स्थानीयवासी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
अध्यक्ष पुडासैनिले शैक्षिक सामग्री पाएपछि अभावका कारण विद्यालय आउन नसक्ने बालबालिकालाई अध्ययन सहज भएको बताए। “सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ,” उनले जोड दिए।
प्रबन्ध निर्देशक प्रकाश लामिछानेले भने, “न्यून आय भएका विद्यार्थीलाई अध्ययन निरन्तरता दिन सहयोग पुग्ने भएकाले यसलाई अभियानकै रूपमा अघि बढाउँछौं।” त्यस्तै, संस्थाका सिइओ पुरुषोत्तम रिमालले विद्यार्थीको व्यक्तित्व विकास र रचनात्मक गतिविधिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा पर्यटन व्यवसायी शंकर खनाल, धु्रव दहाल, रूपेश बञ्जारा, स्थानीय बलराम खनाल, विष्णु खनाल, विष्णु लामिछाने, पदम सैडारीलगायतको पनि सक्रिय सहभागिता थियो।
