काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित देवरियामा विवाहको तयारी गरिरहेकी एक युवतीले निरन्तर दबाब र अपमान सहन नसकी जीवन समाप्त गरेकी छिन्।
परिवारका अनुसार युवतीको विवाह नोभेम्बरका लागि तय भएको थियो। तर, प्रेमी दीपक तिवारीले महिनौंदेखि विवाह रोक्न धम्की दिँदै आएका थिए। उनले “जबसम्म मेरो विवाह हुँदैन, तिमीले पनि विवाह गर्न पाउँदिनौ” भन्दै मानसिक पीडा दिइरहे।
भारतीय मिडिया आज तकका अनुसार, तिवारीले युवतीलाई बदनाम गर्ने प्रयास गर्दै आपत्तिजनक सामग्री परिवार र सामाजिक सञ्जालसम्म पुर्याए। तस्वीर आमासमक्ष पुगेपछि युवती गहिरो निराशामा परिन्। परिवारलाई अपमान सहन नसकी उनले अन्ततः आत्महत्या गरिन्।
उनी छतमा गएर फाँसी लगाएको अवस्थामा भेटिइन्। तत्कालै अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरे।
मृतककी आमाले प्रहरीमा दिएको बयानअनुसार, तिवारीले प्रेमको नाममा लामो समयदेखि छोरीलाई शोषण गर्दै आएका थिए। “हामी गरीब छौं, श्रीमान् छैनन्, छोरी नै हाम्रो आधार थिई। उसको यस्तो अन्त्यले हाम्रो संसार अन्धकार भएको छ,” आमा भन्छिन्।
युवती आमासँग र भाइसँगै बस्दै आएकी थिइन्। भाइले स्थानीय पसलमा काम गर्छन् भने आमा श्रम गरेर परिवार धानिरहेकी थिइन्। उनका अनुसार, छोरीको सपना घर बसाउने थियो तर त्यो सपना विवाहअघि नै चकनाचुर भयो।
