काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कृष्णहरि शर्मा पोखरेल अनिवार्य अवकाशमा गएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच उनको बिदाइ गरेका हुन् ।
पोखरेल एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुने भएका हुन् । भोलि शनिबार भएकाले शर्मालाई अघिल्लो दिन नै बिदाइ गरिएको हो ।
तर, शुक्रबार अर्थात आज यस्तो संयोग बन्यो, पोखरेलकै ब्याची अर्का एआईजी चन्द्रकुवेर खापुङले भने प्रहरीको कमाण्ड गर्ने अवसर पाएका छन् । २०५२ सालको प्रहरी निरीक्षक (इन्सपेक्टर) का ब्याची एउटा आईजीपी नियुक्त हुँदा अर्काको बिदाइ भयो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । खापुङ र पोखरेल २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् ।
शर्माको बिदाइमा नवनियुक्त आईजीपी खापुङसहित, आईजीपी दीपक थापा र एआईजी तथा प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरू उपस्थित थियो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी आईजीपी थापाले सेवानिवृत्त हुन लगेका शर्मालाई मायाको चिनो प्रदान गरे ।
उनले प्रहरीमा गरेको योगदानको पनि थापाले प्रशंसा गरे । आईजीपी थापा पनि आगामी १८ भदौ राति १२ बजेबाट अवकाश हुनेछन्। आईजीपी थापासँगै उनका ब्याचका एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ पनि अवकासमा जानेछन् ।
उनीहरु ३० वर्षे सेवा अवधिका कारण अवकास पाउन लागेका हुन् । त्यसपछि नवनियुक्त आईजीपी खापुङले प्रहरी प्रधान कार्यालयको जिम्मेवारी सम्हाल्नेछन् । आगामी कात्तिक २७ गतेसम्म उनले प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
