काठमाडौं । नेपाल प्रहरीको नेतृत्व चयन कहिल्यै सरल रहेन। प्रायः राजनीतिक दबाब, आन्तरिक शक्ति समीकरण र व्यक्तिगत पहुँचका कारण उच्च पदको नियुक्ति विवादको विषय बन्ने गरेको छ। तर, यसपटक गृहमन्त्री रमेश लेखकले एउटा उदाहरणीय कदम चाल्दै वरिष्ठतम अधिकारीलाई बरियताका आधारमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरे, जसले व्यापक प्रशंसा र सराहना पाएको छ।
वरिष्ठ अधिकारीहरूको अनुभव, वरिष्ठता र योग्यताको मूल्याङ्कनभन्दा बढी राजनीतिक समीकरण र पहुँच निर्णायक बन्ने गरेको इतिहास छ। यही कारण प्रहरी संगठनभित्र असन्तुष्टि, मनोबल कमजोर हुने र विवाद सिर्जना हुने क्रम निरन्तर रहँदै आएको छ।
प्रहरीका एक सेवानिवृत्त अधिकारी भन्छन्, ‘अहिलेभन्दा केही वर्षअघि नेतृत्व चयनमा पहुँच र व्यक्तिगत समीकरणले निर्णायक भूमिका खेल्थ्यो। योग्यतालाई प्राथमिकता दिइने अवस्था धेरै कम देखिएको थियो। यसै कारण बरियतामै आईजीपी नियुक्ति हुनु उल्लेखनीय छ।’
विशेषज्ञहरूले यस निर्णयलाई केवल नियुक्ति मात्र नभई, पेशागत न्याय र पारदर्शिता कायम गर्ने महत्वपूर्ण संकेतको रूपमा लिएका छन्। ‘गृहमन्त्रीको निर्णयले प्रहरी संगठनभित्र स्थायित्व र अनुशासन कायम गर्ने संकेत दिएको छ,’ ती सेवानिवृत अधिकारी भन्छन् ।
सिनियारीटी नमिची, बरियताअनुसार बढुवा हुनु संगठनभित्र स्थायित्व र अनुशासन कायम गर्ने एउटा महत्वपूर्ण अभ्यास रहेको सुरक्षा विश्लेषक डा. रामेश्वर अधिकारी बताउँछन् । उनी भन्छन्, ‘यसले प्रहरी संगठनभित्र पेशागत करिअरप्रतिको विश्वास पनि जगाउँछ।’
‘नेपालमा प्रायः नेतृत्व चयनमा पहुँच र लबी निर्णायक बनेको देखिन्छ। तर गृहमन्त्रीले बरियतामै आईजीपी नियुक्त गरेपछि यस्तो अभ्यासमा परिवर्तनको सन्देश गयो। यो कदम संगठनभित्र मनोबल उच्च बनाउने खालको छ। यसले भविष्यका बढुवामा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा राखिन्छ,’ उनी थप्छन् ।
यस्तैमा एक सिनियर प्रहरी अधिकृतले भने, ‘यो निर्णयले हाम्रो करिअरप्रतिको विश्वास बढाएको छ। बरियताअनुसार बढुवा हुनु हामी सबैका लागि प्रोत्साहन हो। नेतृत्व चयनमा पारदर्शिता देखिनु वास्तवमै प्रेरणादायी छ।’
बरियताअनुसार बढुवा हुनु संगठनभित्र स्थायित्व, नेतृत्वप्रति विश्वास र करिअर व्यवस्थापनमा सकारात्मक असर पुर्याउँछ। आगामी आईजीपीको नेतृत्वमा संगठनको नीति, प्रशिक्षण, अनुशासन र कार्यशैली सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूले यो कदमलाई नेपाल प्रहरीमा सकारात्मक संस्कार विकास गर्ने अभ्यासको रूपमा व्याख्या गरेका छन्। यो अभ्यासले आगामी नियुक्ति प्रक्रियामा पनि पारदर्शिता कायम राख्ने मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरिएको छ। विश्लेषकहरू भन्छन्, ‘यस निर्णयले केवल वर्तमान नेतृत्वमा मात्र नभई भविष्यमा नेतृत्व चयन प्रक्रिया र संगठनको प्रतिष्ठामा दीर्घकालीन सकारात्मक असर पार्नेछ।’
बरियताअनुसार आईजीपी नियुक्त गर्नु गृहमन्त्रीको उदाहरणीय कदम बनेको छ। यसले प्रहरी संगठनमा स्थायित्व, पारदर्शिता, पेशागत न्याय र मनोबल कायम गर्ने संकेत दिएको छ। यस कदमले प्रहरी संगठनभित्र नेतृत्व चयन प्रक्रियामा सुधारको ढोका खोल्ने मात्र होइन, भविष्यमा पेशागत मूल्य र योग्यताको सम्मान कायम राख्ने प्रेरणा पनि प्रदान गरेको छ।
नेपाल प्रहरीको इतिहासमा यो कदम एक सकारात्मक मिसाल बनेको छ, जसलाई सुरक्षा विशेषज्ञ, राजनीतिक विश्लेषक र संगठनभित्रका अधिकारीहरूले सबैले सराहना गरेका छन्। आगामी दिनमा पनि नेतृत्व चयनमा यस्ता अभ्यासको प्रभाव देखिन सक्ने अपेक्षा गरिएको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको ३२ औं आईजीपीमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
